काठमाडौ। इन्धन बिक्री वितरण गर्दा अनियमितता एवम् कालोबजारीसमेत बढेको गुनासो आएपछि नेपाल आयल निगमले आज बिहानदेखि नै बिक्री गर्न पेट्रोल पम्पलाई निर्देशन दिएको छ ।
निगमले बिहानबाट साँझसम्म नै इन्धन उपलब्ध गराउने र त्यसका लागि पुग्दो मात्रामा इन्धन दिने तयारी गरेको छ ।
इन्धन वितरणमा कोटा प्रणाली खारेज गरेको भए पनि पेट्रोल पम्पका अगाडि लामा–लामा लाइन उस्तै रहेको भन्दै निगमले आइतबारबाट नयाँ प्रणाली लागू गर्ने भएको हो ।
निगमले राजधानीका कारबाहीमा परेका पेट्रोल पम्पबाहेक अरूलाई बिहान ७ बजेदेखि नै इन्धन बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले पम्पअगाडि लामा लाइन रहने र रातिको समयमा इन्धन वितरण गर्दा अनियमितता भयो भन्ने गुनासो पनि व्यापक रूपमा आएकाले बिहानबाटै उपलब्ध गराउन निर्देशन दिइएको बताए ।
यस्तै, गृहमन्त्रालयको समन्वयपछि सुरक्षा निकायका पेट्रोल पम्प चौबीसै घन्टा सञ्चालन गरिनेभएको छ । उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पम्प सञ्चालनमा रहेका छन् ।