काठ्माडौं। कांग्रेसको १३औं अधिवेशनबाट कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न आइतबार बिहान ८ बजेबाट मतदान हुँदैछ । पार्टी सभापतिसहितको ६४ सदस्यीय केन्द्रीय नेतृत्व चयनका लागि देशभर र विदेशस्थित जनसम्पर्क समितिबाट चुनिएर आएका ३१ सय ६१ मतदाता निर्वाचनको मैदानमा भाग लिनेछन् ।

सभापति पदका लागि पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् ।

नेपाली काँग्रेसको विधानअनुसार सभापति पदमा निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । आजको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा पुनः निर्वाचन गर्ने व्यवस्थासमेत निर्वाचन समितिले मिलाएको छ ।

त्यसैगरी महामन्त्रीमा नेतात्रय अर्जुननरसिंह केसी, डा शशांक कोइराला र गगन थापा उम्मेदवार छन् । कोषाध्यक्ष पदमा सीतादेवी यादव, चित्रलेखा यादव र उमाकन्त चौधरी प्रतिस्पर्धामा छन् ।

महाधिवेशनले समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका आधारमा ६१ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।

काँग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ जना सदस्य गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिनेछन् ।