काठमाडौं। भारतको विहारका मुख्यमन्त्री नितिश कुमार र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह ४ बजे प्रचण्ड निवास लाजिम्पाटमा दुई जनाबीच भेट भएको थियो ।
भेटका क्रममा नितिशले नेपालमा संविधान कार्यान्वयन र मधेसमा भई रहेको आन्दोलनका बारेमा अध्यक्ष प्रचण्डसँग जिज्ञासा राखेका थिए । अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको क्रम अगाडि बढेको र मधेसी मोर्चाका मुलभूत विषयहरु समाधान भएको बताएका थिए । ‘तपाईको नेतृत्वमा शान्ति प्रक्रिया र संविधान निर्माण सम्भव भएको र तराई–मधेसको समस्या र संविधान कार्यान्वयन पनि तपाईकै नेतृत्वमा हुनेमा हामी विश्वस्त छौं,’ मुख्यमन्त्री नितिशकुमारको भनाई उद्धृत गर्दै प्रचण्डको सचिवालयले भन्यो ।
दुई देशबीचको सम्बन्ध विहार र नेपाली सिमाका जिल्लाहरुमा हुने बाढीको समस्याका बारेमा पनि दुबै देश मिलेर हल खोज्नुपर्ने दुबै नेताको जोड थियो । उक्त भेटघाट करिब ४५ मिनेट भएको थियो ।