कपिलवस्तु। नेपाल र भारतका सीमाविज्ञ र सर्वेक्षक, सुरक्षाकर्मीको संयुक्त टोलीले अहिले जिल्लाका नेपाल–भारत सीमाका १०० वटा सीमास्तम्भको मर्मत सम्भार सम्पन्न गरेको जनाएको छ ।
दुई पक्षीय टोलीले कपिलवस्तु जिल्लासँग सीमा जोडिएको नेपाल–भारत सीमाको ५४४–१ देखि ५८९ सम्मका मुख्य सीमास्तम्भ (मुख्य पिलर), सब्सिडायरी पिलर र सहायक सीमास्तम्भ (माइनल पिलर) को मर्मत सम्भारको कार्य सुरु गरेर सयवटाको मर्मत सम्भार गरेको हो ।
सीमास्तम्भ मर्मत गर्ने कार्यमा नेपालको टोलीले बिजोडा र भारतीय टोलीले जोडा नम्बरको सीमास्तम्भको मर्मत सम्भार गर्ने जिम्मा पाएको छ । हालसम्म दुवै टोलीले ५०–५० वटाका दरले एक सयका हाराहारी पुराना सीमास्तम्भ मर्मत र नभएका स्थानमा नयाँ सीमास्तम्भ बनाउने कार्य गरेको नापी विभागका प्रमुख नापी अधिकृत तथा नेपाली टिमका लिडर निर्मलकुमार आचार्यले बताए।
गत मङ्सिर महिनाको अन्तिम साताबाट सुरु गरिएको मर्मत सम्भारकार्य आउँदो जेठ महिनासम्म चल्ने आचार्यले उल्लेख गरे ।
मर्मत सम्भारका लागि खटिएको दुई पक्षीय पहिलो टोलीले पिलर अनुगमन गर्ने, मर्मत गर्ने वा नयाँ बनाउनेबारे अवस्था मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्ने, पिलर भएका स्थानबाट दुवै मुलुकतर्फ ९ दशमलव १४४ मिटर सीमा क्षेत्र मिचिएको वा नमिचिएको अवलोकन गर्ने र सोअनुरुप नक्साङ्कन गर्ने कार्य गर्दछ ।
पहिलो टोलीको प्रतिवेदनका आधारमा अर्को टोलीले आवश्यक मर्मत सम्भारसँगै नयाँ पिलर निर्माणको कार्यसमेत गर्दै आएको छ ।
अहिले सीमामा रहेका स्तम्भ निर्माण र मर्मत सम्भारका लागि दुवै मुलुकका आठ–आठजनाको टोली खटाइएको छ । नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा तीनजना नापी अधिकृत र सर्वेक्षक गरी आठजनाको टोली खटिएको छ । दुवैतर्फको टोलीमा नेपालतर्फ सशस्त्र प्रहरी बल र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) को टोलीको नियमित निगरानी हुने गरेको छ ।