खोटाङ। राखेको ठाउँबाट झरेर बन्दुक पड्किँदा खोटाङमा एक बालकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
नुनथला–६ का गङ्गा राईको भान्छा कोठामा सिउरिएर राखिएको भरुवा बन्दुक एक्कासि भुइँमा खसेर पड्किँदा सोही ठाउँका तेजबहादुर राईको तीन वर्षीय छोरा कौशल राईको ज्यान गएको हो । शुक्रबार दिउँसो भएको यो घटनामा गङ्गाका सात वर्षीय छोरा रविन राई घाइते भएका हुन् ।
पड्किएको बन्दुकको गोली देब्रे पातामा लागेर बालकको घटनास्थलमै मृत्यु भएको स्थानीयवासीले बताएका छन् । आँखामाथि गोलीको छर्रा लागेर घाइते बनेका अर्का बालक रविनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
बालकद्वय विद्यालयबाट फर्किएपछि भान्छा कोठामा खेल्ने क्रममा सिउरिएर राखेको ठाउँबाट बन्दुक खसेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। घटनाबारे अनुसन्धान गर्न प्रहरी चौकी नुनथलाबाट टोली खटाइएको छ ।
मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । रासस