काठमाडौँ। स्थानीय रुपमा विकसित भएको मौसमी प्रणालीका कारण आज काठमाडौँ उपत्यका सहित देशका मध्य र पश्चिमी भेगमा मौसम बदली भएको छ ।

सो वायुको प्रभावले मौसम बदलीका साथै केही स्थानमा मेघ गर्जनका साथ चट्याङ परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय रुपमा जमिन तातेर माथि हावा जाने प्रणाली विकसित भएका कारण मौसममा खराबी आएको मौसमविद् वरुण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार साँझपख उपत्यकाका उत्तरी भेग गँगबु, बुढानिलकण्ठ र गोकर्ण क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ । अपराह्नदेखि विकसित मौसमी प्रणाली साँझसम्म कायम रहने र रातिदेखि मौसममा सुधार आउने जनाइएको छ ।

गर्मी मौसम भएकाले स्थानीय मौसमी प्रणालीको विकासमा साङ्केतिक परिवर्तन भएको विज्ञको भनाइ छ ।

सामान्यतः यस प्रकारको प्रणालीमा अपराह्न केही घन्टा घाम लाग्ने र साँझअघि बदली हुने गर्छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ र अधिकतम २२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ ।