काठमाडौँ। पश्चिमी वायुको प्रभावका कारण आज देशभरको मौसममा खराबी आएको छ ।
सो वायुको प्रभावले देशभरको मौसम बद्ली हुनुका साथै पश्चिमी भेगमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमका केही ठाउँमा हल्का वर्षा र उच्च हिमाली भेगमा सामान्य हिमपातसमेत भएको मौसमविद् शान्ति कँडेलले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पश्चिमी वायुको प्रभावले गए राति देखिनै काठमाडौँ उपत्यकासहित देशभर बद्ली भएको छ, यो क्रम दिनभर जारी रहन्छ, भोलि (आइतबार)देखि मौसममा सुधार आउनेछ ।”
महाशाखाका अनुसार देशका मध्य र पूर्वी भेगका केही स्थानमा पनि हल्का वर्षा हुने सम्भावना छ ।
रातिदेखि नै आकाशमा बादल लागेकाले आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्ला दिनको तुलनामा बढेर ११.५ डिग्रीसेल्सियस पुगेको छ ।
न्यूनतम तापक्रम बढे पनि उपत्यकासहित देशभर बद्ली हुँदा आज बढी चिसो महसुस गरिएको छ ।