उनले संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक–सामाजिक विकासको दिशामा अघि बढेको बताउँदै यस प्रक्रियालाई जति छिटो रफ्तारमा अघि बढाउन सक्यो हामीले प्राप्त गरेका राजनीतिक उपलब्धि र लोकतान्त्रिक गणतन्त्रलाई त्यति नै समृद्ध र बलियो बनाउने बताए।
संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद हुँदै आएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले संविधानको पहिलो संशोधनबाट ती गुनासा र असन्तुष्टि आधारभूतरुपमा सम्बोधन भएको बताए।
केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने बताउँदै प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्ने निरन्तरको प्रक्रियामा संलग्न रहन सबै पक्षलाई आग्रह गरे। समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, सांसद, सुरक्षा निकायका उच्च अधिकारी, संवैधानिक निकायका पदाधिकारी, कूटनीतिक निकायका प्रतिनिधि, उच्च सरकारी पदाधिकारीलगायत सहभागी थिए।
समारोहमा सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय सेवा दल, नेपाल स्काउट र विद्यार्थीले मार्चपास गरेका थिए। त्यस्तै काठमाडौं, ललितपुर, भक्तपुर, मध्यपुरथिमि र कीर्तिपुर नगरपालिकाले सांस्कृतिक झाँकी प्रदर्शन गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्बाट विभिन्न खेल प्रदर्शन गरिएको थियो। कार्यक्रम भइरहँदा समारोह स्थलमा हेलिकोप्टरबाट पुष्प वृष्टि पनि गरिएको थियो।
विसं २००७ फागुन ७ गते १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६६औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ।