चितवन। स्थानीय प्रशासनले अवैध रुपमा ओसारपसार गरेका इन्धन बरामद गर्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार फागुन २ गतेदेखि ५ गतेसम्म १४ हजार लिटर डिजेल बरामद भएको छ ।
डिजल मुख्य रुपमा ठोरी नाका हुँदै आएको हो । त्यसैगरी पूर्वी र पश्चिम चितवनका विभिन्न ठाउँबाट पनि डिजेल बरामद गरिएको कुँवरले बताए ।
प्रचलित मूल्य अनुसार बरामद डिजल रु १० लाख ५० हजार पर्दछ । डिजेल राखिएको भाडा रु ७० हजार मूल्य बराबरका छन् । डिजेललाई मूल्य बढाबढ प्रक्रियाबाट लिलाम बिक्री गरी रकम भन्सारमा दाखिला गरिने प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए।
त्यसैगरी ठोरी नाका हुँदै इन्धन ठूलो मात्रामा आइरहेकोमा प्रहरीका गीतानगर र माडीमा रहेका इलाका कार्यालयले सो बाटो हुँदै इन्धन ढुवानीका लागि जाने सवारीसाधनलाई रोकेका छन् ।
नाका बन्द हुँदा ठोरी नाकाबाट माडी हुँदै दैनिक एक लाख ५० हजार लिटरको हाराहारीको इन्धन भित्रिदै आएको थियो । चितवनको बाटो हुँदै राजधानी काठमाडौँंसम्म इन्धन पुगेको थियो ।
अवैध इन्धनले राजस्वमा निकै गिरावट आएपछि नाका सहज बनेसँगै प्रहरीले ठोरीनाकाबाट आउने इन्धनलाई कडाइ गरेको हो ।