पाँचथर। वर्षौं बित्दा पनि पाँचथर सदरमुकाम फिदिममा खानेपानी वितरण नगरिएपछि उपभोक्ताले ‘आकासको फल आँखा तरी मर’ जस्तै भएको बताउन थालेका छन् ।
फिदिम नगरपालिका–१ देखि ५ सम्मका एक हजार ७३० उपभोक्तालाई आयोजना दुई वर्षअघि नै सम्पन्न गरी खानेपानी वितरण गर्ने भने पनि अझै आयोजनाले खानेपानी वितरण गर्न सकेको छैन ।
उपभोक्ताले आयोजनाको पानी आउने आशा पनि मार्न थालेका छन् । फिदिम–४ गडीकी धनमायाँ लिम्बूले पानी आउँछ भनेर पर्खिंदापर्खिंदा वर्षौं बितेको बताइन् । “घरघरमै पानी आउँछ भन्थ्यो, खोइ आएन” उनले भनिन् । यसले गर्दा पूर्वी नेपालको नमुना सहरको रुपमा विकासोन्मुख फिदिम बजारमा पानीको अभावले उपभोक्ता काकाकुल बनेका छन् । फिदिम–१ की शर्मिला मगर एक गाग्री पानी थाप्न डेढ घन्टासम्म पर्खिनुपर्ने बताउँछिन् ।
पछिल्लो पटक साउन अन्तिमसम्ममा पुरानै धाराबाट भए पनि खानेपानी चौबिसै घन्टा वितरण गर्ने आयोजनाका अध्यक्ष गजाधर भट्टराईले बचन दिएका थिए। तर पानी वितरण त के, फिदिमको माथिल्लो गाउँमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा फागुनको पहिलो साता बित्न लाग्दा पनि पानी झार्नै सकिएको छैन ।
सो आयोजना जिल्लाको लुङरुपा–५ र रानिटार–३ हुँदै बग्ने आप्तावा खोलाबाट सञ्चालन गरिएको हो । आयोजनाले फिदिमको जनसङ्ख्यालाई १५ वर्षसम्म धान्ने अनुमान गरिएको छ ।
तर बर्सेनि गाउँबाट १०० को हाराहारीमा बसाइँ सरेर फिदिम आउने हुँदा १० वर्षमात्रै धान्न सक्ने आङ्कलन गर्न थालिएको छ । १७ करोड २० लाख रुपैयाँको लागतमा निर्माणाधीन आयोजनाको ५० प्रतिशत लागत एसियाली विकास बैंकको सहयोग, ४५ प्रतिशत फिदिम नगर विकास कोषबाट १५ वर्षसम्ममा खानेपानीको महसुल उठाएर ऋण चुक्ता गर्ने शर्तमा लिएको र पाँच प्रतिशत उपभोक्ताबाट सङ्कलन गरिएको छ ।