काठमाडौ। १२औं साग फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिम आज स्वदेश र्फकदै छन् ।

२३ वर्षपछि पदक बोकेर खेलाडी तथा पदाधिकारीहरु आज  दिउँसो ३ बजेर ४० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने छन् । पदक विजेता नेपाली खेलाडीलाई नगर परिक्रमा गराइने छ ।

डोमेस्टिक टर्मिनलको गेटबाटै सुरु हुने विजय जुलुस तिलगंगाचोक, गौशाला, रातो पुल, ज्ञानेश्वर, कमलपोखरी हुँदै पुतलीसडक आइपुग्ने छ।

पुतलीसडकबाट प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, न्युरोड गेट, जमल हुँदै केशरमहल र त्यहाँबाट नारायणहिटी संग्रहालय हुँदै पुरानो बसपार्क आइपुगेर सहिदगेट, सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर टुङ्गिने एन्फाले जनाएको छ।

रंगशाला पुगेपछि त्यहाँ खेलाडीहरुलाई भब्य सम्मान गर्ने कार्यक्रम रहेको छ ।