काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंगको सम्बन्ध पारस्परिक लाभ र मान्यताको आधारमा हुने जोड दिएका छन् । संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको विकसित र मान्यता अनुसार परराष्ट्रस सम्बन्धलाई सुदृढ गरिने बताए ।
उनले आफ्नो भारत भ्रमणको क्रममा राष्ट्र हित विपरीत कुनै सम्झौता नहुने बताए । प्रधानमन्त्री ओली यही फागून ७ गतेदेखि तीन दिने भारत भ्रमणमा जाने कार्यक्रम छ ।
‘मित्रता खल्बल्याउनको लागि होइन सुदृढ बनाउनको लागि भ्रमण हुनेछ’, उनले भने,‘दोषारोपण गर्नको लागि होइन समझदारीको लागि हुनेछ ।’
उनले मधेस आन्दोलनको माग संबोधनको लागि भारत भ्रमण अघि नै यसअघि सहमति भएको समिति बनाउने जानकारी गराए । उनले समितिले तीन महिनाभित्र सीमांकनलगायत बिषयमा सुझाव दिने भएकाले नेपालको आन्तरिक समस्या समाधान हुने दाबी गरे ।
‘भारतसंग हाम्रो ऐतिहासिक गहिरो सम्बन्ध छ । बीचमा अप्रिय समस्या देखिए पनि यसमा अल्झिनु हुंदैन’, उनले भने,‘नयां ढंगले अघि बढ्नुपर्छ ।’
उनले अब मुलुक समृद्धिको बाटोमा अघि बढ्ने दाबी गरे । बाह्य लगानी भित्र्याउने वातावरण बनाउनको लागि सरकार लागि परेको उनले बताए ।उनले सरकारको ध्यान देशमा आर्थिक समृद्धि ल्याउन केन्द्रित रहेको बताए ।