सोल। दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले जारी राखेको आणविक अश्त्र प्रयोगको उत्तेजनालाई निस्तेज पार्न फरक तरिका अपनाउनुपर्ने धारणा राखेका छन्।
हाइले उत्तर कोरियाले विश्व समुदायका साथै संयुक्त राष्ट्रसंघकै बेवास्ता गरेर यो आणविक परीक्षण गरेको भन्दै उसलाई विश्व समुदायबाट अलग्याउन विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
हाइले मङ्गलबार राष्ट्रिय सभामा दिएको सम्बोधनका क्रममा भने– यो उसको अनावश्यक उत्तेजना हो र यो नै शान्तिका लागि खतरा पनि हो ।
दक्षिण कोरियालीहरु उत्तरको आणविक धम्कीले विगतका वर्षहरुमा निकै नै डराएर बसिरहेको भएपनि अबका दिनमा भने पछि नहट्ने र शान्तिका लागि अडान लिने बेला आएको छ– सो सम्बोधनका क्रममा हाइले भने ।
उत्तर कोरियालाई परिवर्तन गर्न र शान्तिका लागि प्रतिबद्ध बनाउन अब आधारभूत रुपमा नै परिवर्तन ल्याउनु जरुरी रहेको हाइले बताए ।
उत्तर कोरियाले हालै लामो दुरीको रकेट परीक्षण गरेको केही समयपछि हाइको यो प्रतिक्रिया आएको हो।
उत्तरको सो परीक्षणपछि विश्वव्यापी रुपमा नै विरोध भएको थियो ।