सोलुखुम्बु। भौतिक योजना तथा निर्माण मन्त्री एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले देशमा चाँडै सहमतीय सरकार बन्ने बताएका छन् ।

जीवनज्योति उच्च मावि नेले सोलुखुम्बुको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री गच्छदारले संविधान कार्यान्वयन र देश विकासका लागि सहमतीय सरकार आवश्यक रहेको बताए ।

अब कम्तीमा ३ वर्षका लागि देशका सबै ठूला शक्ति सम्मिलित सरकार आवश्यक रहेको र त्यसको पहल भइरहेको भन्दै गच्छदारले चाँडै त्यसको नतिजा प्राप्त हुने बताए ।

उपप्रधानमन्त्री गच्छदारले तराईको आन्दोलन रोकिएको र अब तराईमा भएको क्षतिलाई समेत ध्यान दिएर सबै दल एक भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको र यसमा ठूलो दल काँग्रेस पनि सकारात्मक हुने विश्वास व्यक्त गरे ।

देशमा अब राजनीतिक आन्दोलनभन्दा विकास निर्माणको आन्दोलन आवश्यक रहेकाले सबै दल मिलेर अबको १० वर्षमा देशलाई विकासको गतिमा उच्चतम् बनाउन अहिलेको सरकार कटिबद्ध रहेको पनि उपप्रधानमन्त्री गच्छदारले बताए।