ताप्लेजुङ। सावादिन गाविसमा गए राति आगलागीमा परी दुई बालकको मृत्यु भएको छ ।
घरमा अभिभावक नभएका समयमा करिब ९ बजेतिर सावादिन–८ का पेमादावा शेर्पाका घरमा लागेको आगोमा परी पेमादावाकै छोरा पाँच वर्षीय फुर्वा र छिमेकी कालवीर शेर्पाका तीन वर्षीय छोरा दसीको मृत्यु भएको हो ।
आगलागीमा परी अन्य दुई जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा पेमादावाका दुई छोरी आठ वर्षीया फुर्वा र ११ वर्षीया चाउरी शेर्पा छन् ।
राति करिब आधा घन्टाको दूरीमा पर्ने छिमेकीको विवाहमा दुवै बच्चाका आमा निस्किएकाले घरमा ठूलो अभिभावक नहुँदा समयमा नै उद्धार हुन नसकेको प्रहरीले जनाएको छ ।
उक्त आगलागी भएको घरआसपास नजिकै अन्य घर नभएकाले पनि छिमेकीलाई आगलागीबारे समयमै जानकारी नभएको बताइएको छ । आगलागी भएको थाहा पाएर दुई घाइते दिदीबहिनीले भाइहरुलाई उठाएको तर बाहिर निकाल्न नसकेको बताइएको छ ।
आगाले घरको अधिकांश भाग जलिसकेको अवस्थामा मात्र शेर्पा परिवारले थाहा पाएको थियो । आगलागी भएको निकै समयपछि छरछिमेक र घरका अभिभावक निस्किए पनि उनीहरुलाई निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।
भान्साकोठामा ननिभाई राखिएको आगो सल्किएर घरमा आगलागी भएको अनुमान गरिएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । दुई घाइतेको स्थानीय उपचार भइरहेको छ ।