कालीकोट। लामो समयपछि कालीकोटमा वर्षासँगै हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात हुँदा जनजीवन कष्टकर भएको छ भने वर्षाले पहाडी क्षेत्रका स्थानीयवासी भने खुसी भएका छन् ।

हिमपातले जुम्ला जिल्लाका आसपासमा रहेका फोइमहादेव, राँचुली, चिल्खाया, छाप्रे र बाजुरा तथा मुगुको सिमानामा पर्ने रुप्सा, मुम्रा, धौलागोह, खिनलगायतका गाविसमा जनजीवन कष्टकर भएको छ ।

खिन गाविसका पदम विकका अनुसार हिमपातले बाहिर आउनसमेत कठिनाइ भएको छ । यहाँ बर्खे बालीसमेत उत्पादन नहुँदा भोकमरी भएका बेला हिउँदे बालीका लागि वर्षा हुँदा कृषकलाई राहत भएको बताए ।

कालीकोटमा वार्षिक ७३० मिलीमिटर वर्षा हुने गरेको बताइए पनि यस वर्ष भने २०० मिमी पनि वर्षा नभएको बताइएको छ । जिल्लामा गत वर्ष बर्खे बालिमा ५४ प्रतिशत उत्पादन नभएपछि जिल्लाका पलांता क्षेत्रका धौलागोह, खिन, राम्नाकोट, थिर्पुलगायतका गाविसमा भोकमरी हुँदा सरकारले खाद्य सङ्कट क्षेत्रका रुपमा खाद्यान्न सहयोगका लागि विभिन्न निकायमा अनुरोध गरेको छ ।

कालीकोट जिल्लामा कुल क्षेत्रफल एक हजार ७४१ वर्ग किमीमध्ये १८ हजार ८७ दशमलव ८० हेक्टर तथा १० दशमलव १६ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । त्यसमा पनि अहिले १६ हजार ३३५ हेक्टर क्षेत्रफल मात्र खेती हुने गरेको छ ।