म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१४ डाँडाखेतस्थित बालमन्दिर निमाविका विद्यार्थी सफा मौसम र घाम लागेको दिनमा मात्र विद्यालय जाने गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण कठ्याङ्ग्रिँदो जाडोमा पनि एकसरो कपडा लगाएर विद्यालयमा आउनुपर्ने बाध्यतामा रहेका यहाँका विद्यार्थी घाम लागेको दिनमा मात्र विद्यालय जाने गरेका हुन् ।

जाडोमा छोराछोरी बिरामी हुने डरले अभिभावक नै विद्यालय पठाउन नचाहने विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद शर्माले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थी विद्यालयमा नियमित आउन चाहे पनि न्यानो कपडाको व्यवस्था गर्न नसक्दा समस्या भइरहेको विद्यालयका प्रअ शर्माले जानकारी दिए। “विद्यालयले जुटाउन सकेको छैन, हामीले यी कलिला विद्यार्थीलाई सहयोग खोजिरहेका छौँ” – शर्माले भने ।

विसं २०१६ मा स्थापना भएको विद्यालयमा १७४ जना विद्यार्थी अध्ययनरत छन् । कुल विद्यार्थीमध्ये ११० दलित विद्यार्थी छन् । गत शैक्षिकसत्रमा ५९.८ प्रतिशत सिकाइ उपलब्धि हासिल गरेर धौलागिरि मावि स्रोतकेन्द्रमै नमुना विद्यालयका रुपमा चिनिएको विद्यालयले यस वर्ष विद्यार्थीको आधारभूत समस्या समाधान गर्न नसक्दा समस्याको सामना गरिरहेको छ । विद्यालयले विद्यार्थीलाई न्यानो कपडा सहयोगको वातावरण बनाउनसमेत सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।