काठमाडौँ। यू–१९ विश्वकप क्रिकेटमा आयरल्याण्ड विरुद्ध नेपालले आठ विकेटको फराकिलो जित हात पारेको छ । २५.३ ओभरमा नेपालले दुई विकेट गुमाउँदै निर्धारित १३२ रनको लक्ष्य भेटाएको हो । नेपालका लागि ओपनर योगेन्द्रसिंह कार्कीले अर्धसतक प्रहार गरे ।

उनले ८१ बलमा ८ चौकासहित ६१ रन ल्याए भने आरिफ सेखले ३६ बलमा ३१ रन बनाए ।

सुनिल धमलाले चार चौकासहित ३५ बलमा २८ रन बनाए । ओपनर सन्दिप सुनार पहिले बलमै आउट भएपनि अन्य ब्याट्स म्यानले राम्रो खेल्दा नेपालले सानदार जित हात पारेको हो ।

बांग्लादेशमा जारी खेलमा आइरल्याण्डविरुद्ध १३२ रनको सहज लक्ष्य पाएको थियो । आयरल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनायो ।

टस हारेर फिल्डिङ गरेको नेपालका सन्दिप लामिछानेले ह्याट्रिक सहित ५ बिकेट लिए । ५ ओभर बलिङ गरेका लामिछानेले १५ रन खर्चेर ५ विकेट लिएका हुन् ।

दीपेन्द्र सिं ऐरी २, सुनिल धमला र सुशील कँडेलले एक एक विकेट लिए । पहिलो खेलमा टेष्ट मान्यताप्राप्त न्यूजिल्याण्डलाई हराएको नेपालका खेलाडी आत्मविश्वासी देखिएका थिए ।