धनगढी। उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सत्ता स्वार्थका नाममा देशको अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानमाथि सौदाबाजी गर्न नदिने बताएका छन् ।
आज यहाँ सुरु भएको राष्ट्रिय जनमोर्चा कैलालीको जिल्ला सम्मेलनको उद्घाटन गर्दै पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री केसीले आफुलाई राष्ट्रिय एकता र अखण्डताविरुद्ध सौदाबाजी गरेर सत्तामा टिकिरहनु छैन भने ।
नेपालमा राष्ट्रपति प्रधानमन्त्रीको चयन पहिलो पटक छिमेकीको दबाबबिना भएको बताउँदै उहाँले भन्नुभयो– “सेनामा जवान भर्ती गरेजस्तो गरी छिमेकीले छाती, कम्मर, उचाइ नापी दिएर राष्ट्रपति प्रधानमन्त्री हुनुपर्ने परम्परा तोडिएको छ ।”
उहाँले मेचीदेखि महाकालीसम्मको समथर भू–भाग अलग प्रदेश बनाउनुपर्ने माग नेपालको तराई क्षेत्रलाई कालान्तरमा सिक्किमीकरण गर्ने मनसायबाहेक केही होइन भने।
उहाँले पहाडी र तराईका जनताबीच फुट गराउने र बहुराष्ट्रको कुरा गरेर राष्ट्र विखण्डन गर्ने दुष्प्रयासविरुद्ध सचेत हुन आग्रह गरे ।
सरकारमा आफ्नो पार्टीको सहभागिताबारे उहाँले संविधान कार्यान्वयनका लागि राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी भएको प्रष्ट पारे ।