काठमाडौं । प्रहरीका डिआइजी सनत केसीकी छोरी हुँ भनेर वर्षौदेखि पोखरा टु काठमाडौंमा ठग्दै हिड्ने  युवती भगवती केसीलाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी हस्तीचौरकी २३ वर्षीया युवती केसीले डिआइजीको छोरी बनेरै ठगी धन्दा चलाउँदै आएकी थिइन् ।

पछिल्लो पटक भने आफू डाक्टर सुहाना केसी बनेर युवकलाई मोहजालमा पारेर दिल्ली पुर्याएपछि भने डिआइजीकै नक्कली छोरीलाई खोजी गर्न प्रहरी कस्सिएको थियो । भारतको नयाँ दिल्ली पुर्याएर प्रेमीलाई ब्ल्याकमेल गर्ने युवतीलाई पक्राउ गर्नुका साथै प्रहरीले ती युवकको पनि उद्धार गरेको छ ।

नक्कली डाक्टर बनी ती युवतीका काठमाडौंका एक युवकलाई प्रेमजालमा पारेर दिल्ली पुर्याएको एसएसपी सर्वेन्द्र खनालले बताए । दिल्ली पुर्याएर ती युवकसँग मोटो रकम माग्दै बन्धक बनाएकी थिइन् ।

युवकका बाबुले छोरो हराएको भन्दै प्रहरीमा उजुरी गरेपछि मात्रै प्रहरीले खोजविन गर्दा फेसबुकबाट युवकलाई पत्ता लगाएपछि डिआइजीकी नक्कली छोरी प्रहरीको कब्जामा परेकी हुन् ।

प्रहरीले अनुसन्धानका क्रममा ती युवतीले ठगी गर्नका लागि ९ वटा सिम कार्ड प्रयोग गरेको पत्ता लगाएको छ । पोखरामा ठगी धन्दा गर्दै आएकी ती युवतिविरुद्ध उजुरी परेपछि उनी काठमाडौ छिरेर पनि ठगी धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।