फलेवास। उपप्रधान मन्त्री चित्रबहादुर केसीले संविधानको उल्टो व्याख्या गरेर नेपाली जनतालाई केही दलहरुले गलत सन्देश दिइरहेको बताउँदै त्यस्तो गलत सन्देशको पछाडि नलाग्न आग्रह गरे ।
आइतबार साँझ बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गरिबी निवारण तथा सहकारी मन्त्रीसमेत रहेका केसीले संविधान जारी गर्नु आफूहरुको बाध्यता रहेको तर त्यही बाध्यताले गर्दा जनताले नाकाबन्दी उपहार पाएको उल्लेख गरे ।
उपप्रधान मन्त्री केसीले जुन कारण देश समस्यामा परेको छ सो कुरा जनतालाई बताउन राजनीतिक दलहरु तयार रहनुपर्ने बताउँदै मधेसवादी दलको आन्दोलनको औचित्य नरहेको धारणा राखे।
नेपालको संविधान, २०७२ को मुख्य उपलब्धि गणतन्त्र र सीमान्तकृत समुदायको अधिकार भएको हुँदा त्यसलाई सबैले समर्थन गर्नुपर्ने उपप्रधानमन्त्री केसीले बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीले अर्को एक फरक प्रशङ्गमा नेपालका कतिपय सहकारीले जनतालाई ठगी गरिरहेको बताउँदै त्यसबाट जोगिन सेयर सदस्यहरुलाई आग्रह गरे।
सहकारीका थुप्रै गुनासा आफूसँग आएको बताउँदै नेपालका सबै सहकारीमा पारदर्शीता र जवाफदेहिता नरहेको केसीले बताए । सहकारी ऐन, २०४८ अनुसार नेपालका सहकारीको नियमन भइरहेको बताउँदै केसीले छिट्टै त्यो ऐनमा संशोधन हुनेसमेत उल्लेख गरे । रासस