काठमाडौँ। मुटु काँप्ने पुसको चिसो बृद्धबृद्धाका लागि काल बन्न थालेको छ । विनाशकारी भूकम्पले घर भत्किएर जस्ताको छानोमा ओत लागेका दोलखाका ६ जना बृद्धबृद्धाका लागि चिसो नै काल बनेको हो । माइनस तीन डिग्रीसम्म पुगेको दोलखाको चिसोले एक सातामा ६ जनाको ज्यान लिइसकेको छ ।

दोलखाको दक्षिणी गाविस डाँडाखर्क ८ का ९५ वर्षीय धनराज तामाङ, झुले ७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले ४ की ८३ वर्षीया जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीया लालबहादुर तामाङ, जफे १ की ७९ वर्षीया भद्रकुमारी पोखरेल र बुलुङ ८ का ६२ वर्षीय भक्तवहादुर मगरको मृत्यु भएको छ । उनीहरुको चिसोकै कारण मृत्यु भएको परिवारका सदस्यले बताए ।

बिहीबार राति खाना खाएर टहरामा सुत्न गएका डाँडाखर्कका धनराज तामाङलाई शुक्रवार विहान मृत अवस्थामा फेला परेको स्थानीय शम्भु केसीले बताए । गाउँमा भएका धेरै बृद्धबृद्धा चिसोका कारण बिरामी परेको उनले जानकारी दिइन् ।