रौतहट। तराईका केही जिल्लामा बसमा भएका आगजनीका घटनामा मालिककै संलग्नता रहने गरेको खुलासा भएको छ । एक महिना यता रौतहट, बारा र महोत्तरीमा बसमा भएका आगजनी घटनामा मालिककै संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।

यी तीनै ठाउँमा भएका यात्रु बाहक बस आगजनीका घटनामा नक्कली चालक पक्राउ परेपछि यसको रहस्य खु्लेको हो। बिमा रकम दाबी गर्न बस धनी आफंैले थोत्रा बसमा आगो लगाएर केही सातापछि प्रहरी कार्यालयमा नक्कली चालक बनाएर उभ्याउने गरिएको हो ।

रौतहटमा ना ४ ख ५१० नम्बरको मितेरी यातायात बस, बाराको गढिमाई नगरपालिका– १६ स्थित पसाहा जंगलमा ना. ४ ख ३२१६ नम्बरको बस र महोत्तरीको लक्ष्मीनियाँ जंगलमा बा २ ख १२७३ नम्बरको बसका धनीले नै आगजनी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

रौतहटको बसमा भएको आगजनीमा बससँग सम्बन्धित शेखर गुरागाईले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा नक्कली चालक बनाएर पर्साका बुद्धिराम महतोलाई उभ्याएपछि यसको रहस्य खुलेको हो ।

पक्राउ परेका महतोले वाइरिङ सर्ट भएर बसमा आगजनी भएको बयान प्रहरीलाई दिएवापत बस धनीले २० हजार रुपैयाँ दिएका थिए ।