एजेन्सी। नेपाल र चीनबीच इन्धन व्यापारलगायत द्विपक्षीय हितका विषयमा ८ बुँदे सहमति भएको छ । नेपालका परराष्ट्रमन्त्री तथा उप प्रधानमन्त्री कमल थापाको ६ दिवसीय चीन भ्रमणका अवसरमा उक्त सहमति भएको हो ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको टोली र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच भएको सहमितका बारेमा विज्ञप्तीमार्फत जानकारी गराएका हुन ।
सहमती अनुसार, चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने उल्लेख छ । इन्धन संकट समाधान गर्न नेपाललाई मध्यकालीन र दीर्घकालीन रुपमा आपूर्ति व्यवस्था मिलाउन चीन सहमत भएको संयुक्त विज्ञप्तीमा जनाइएको छ। विगत ६० वर्षमा नेपाल–चीन सम्बन्ध घनिष्ठ रुपमा अगाडि बढेको ठहर गर्दै अर्को वर्ष प्रधानमन्त्री तहको उच्च भ्रमण आदानप्रदान गर्ने सहमती भएको छ।
चीन–नेपाल सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू तथा सीमा नाकाहरू व्यवस्थित गर्ने सहमतिको अर्को बुँदामा छ। त्यस्तै दुई देशबीच पारबहन तथा बिप्पा सन्धि गर्नका लागि सक्रियता साथ अध्ययन गर्ने सहमति पनि भएको छ।
द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा चीनका विदेश मन्त्री वाङ यीले चीन, नेपाल र भारतले त्रिदेशीय आर्थिक करिडोर निर्माण गरी संयुक्त फाइदा लिनु पर्ने बताए । तीन देशबीच सहकार्य भए प्रतिस्पर्धा भन्दा आपसी फाइदा बढी हुने वाङको तर्क थियो ।