इलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले केही समय नेपाललाई नाकाबन्दी गरेपनि अन्ततः फिर्ता लिन बाध्य भएको बताएका छन् ।
इलाम क्षेत्र नं। १ को दानाबारीमा आज आयोजित मतदातासँगको कुराकानीमा उनले भारतीय नाकाबन्दीले नेपालको समग्र विकास निर्माण प्रभावित भएकाले नाकाबन्दी लामो समय टिक्न नसक्ने बताए ।
दानाबारी क्षेत्रमा सञ्चालन भएका विभिन्न विकास निर्माणको अवलोकन गर्दै उनले निर्वाचन क्षेत्रमा अपुरा रहेका विकास निर्माणका कामलाई चाँडै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए ।
दानाबारी र चिसापानी गाविसमा निर्माण सम्पन्न भएको सानिमा माई हाइड्रोपावरको अवलोकनको क्रममा उनले खोलाहरूको सदुपयोग गरी नेपाललाई विजुलीमय बनाउन र यसबाटै देशमा आर्थिक उन्नति गर्नुपर्नेमा जोड दिए ।
एक फरक प्रसङ्गमा नेता खनालले नेपालको संविधानले सबै जातजातिलाई समान अधिकार दिएको र कसैलाई चित्त नबुझे प्रक्रियागतरूपमा संशोधन गर्न सकिने भएकाले आफ्नो देशको समस्या समाधान गर्न विदेशीलाई गुहार्न नहुने बताए ।
उनले आफू प्रधानमन्त्री भएका समयमा इलामको गोदकस्थित राजदुवाली–चिसापानी–दानाबारी हुँदै झापाको दुर्गापुर जाने सडकको कालोपत्रे गर्न बजेट विनियोजन गरेको प्रसङ्ग उल्लेख गरे । रासस