इलाम। नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी अब उसलाई नै घाँडो भएकाले चाँडै अन्त्य हुने बताएका  छन् । श्रीअन्तु गाविसमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता खनालले नयाँ संविधानमा राम्रा कुरा धेरै भएकाले यसलाई बुझाउन पर्ने बताए ।

एक फरक प्रसङ्गमा खनालले संसद्मा रहेका मुख्य राजनीतिक दलको एकता अझै पनि आवश्यक रहेको बताउँदै संविधानलाई तल्लो तहसम्म बुझाउन सकेमा संविधानका विषयमा रहेको भ्रम अन्त्य भएर जाने बताए ।

अन्तुडाँडालाई नेपालमा मात्र नभएर विश्वमै चिनाउन र होम स्टेको विकास गर्न सके पर्यटन व्यवसाय फस्टाउने समेत खनालको  भनाइ थियो । क्षेत्र नं १ निर्वाचन क्षेत्रका बासिन्दाले नेपालको सीमावर्ती समालबुङ र श्रीअन्तुको विकासमा लाग्न उहाँलाई अनुरोध गरेका थिए ।