बुटवल । सुनौली नाकामा धर्ना दिन गएका मधेशी मोर्चाका दुई नेतालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय अन्य नेता र कार्यकर्ताको साथमा नाराजुलुश गर्दै नाकामा धर्ना दिन गएका उनीहरूलाई प्रहरीले दिउँसो ३ बजे पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले नाकामा धर्ना दिन आएका संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादव र तमलोपाका जिल्ला अध्यक्ष अजय बर्मालाई पक्राउ गरेको जानकारी दिए।

यादव मोर्चाले विगत ४ महिनादेखि जारी राखेको तराई आन्दोलनका जिल्ला संयोजक समेत हुन्। सीमा नाकामा धर्ना तथा जुलुश गरी आवागमन अवरुद्ध गर्नुको साथै सिमा क्षेत्रमा अशान्त मच्चाउन खोजेको भन्दै दुईजनालाई पक्राउ गरेको कार्कीले बताए।

यसअघि गत २० गते पनि सुनौली नाकामा धर्ना दिन गएका स्थानीय ४ जना नेतासहित ६ जनालाई प्रहरीले पक्राउ गरी सोहि दिन साँझ छोडिदिएको थियो।