काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले आउने वर्षदेखि प्रवेसिका (एसएलसी) परीक्षाको सबै नतिजा लेटरगे्रडिङ (अक्षराङक) प्रणालीमा सार्वजनिक गर्ने भएको छ।
लेटरग्रेडिङ प्रणालीलाइ व्यवस्थित र वैज्ञानिक गर्न गठन गरिएको प्राविधिक समितीले दिएको सुझाव अनुसार लेटरग्रेडिङमा नतिजा सार्वजनिक गर्ने निर्णय मन्त्रालयले विहीबार गरेको हो। यसबारे सुझाव दिन मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशकको संयोजकतवमा समिती गठन गरेको थियो।
शिक्षामन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषदले विहीबार लेटर ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयलाइ निर्देशन दिने निर्णय गरेको हो। यसअघि गत वर्ष प्राविधिक विषय पढेर एसएलसी दिएको तीन हजार तीन सय विद्यार्थीको नतिजा मात्र परीक्षणको रुपमा लेटरग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएको थियो।
मुलुकभरका ९९ विद्यालयमा प्राविधिक विषय पढेर एसएलसी दिएका ती विद्यार्थीको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएको थियो। त्यतिखेर पाँच तहमा सार्वजनिक गरिएको थियो।यस वर्षदेखि भने एसएलसीको नतिजालाइ नौ तहमा वर्गीकरण गरेर सार्वजनिक गरिनेछ।
यही वर्गीकरणको आधारमा विद्यार्थीलाइ प्रमाणपत्र प्रदान गरिनेछ। नयाँ व्यवस्था अनुसार विद्यार्थीको प्राप्तांकको आधारमा सबैभन्दा धेरै अङक ल्याउनेलाइ ए प्लस तथा सबैभन्दा थोरै अङक ल्याउनेलाइ इ र परीक्षाफल स्थगित भएकालाइ नन ग्रेडिङ संकेत दिइनेछ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार ९० देखि १०० अंक ल्याउने विद्यार्थीलाइ ए प्लस, ८० देखि ८९ अंक ल्याउनेलाइ ए, ७० देखि ७९ सम्म ल्याउनेलाइ ‘बि’ प्लस, ६० देखि ६९ सम्म ल्याउनेलाइ बि संकेत दिइनेछ।
त्यस्तै ५० देखि ५९ सम्म ल्याउनेलाइ सी प्लस, ४० देखि ४९ सम्म ल्याउनेलाइ सी र २० देखि ३९ सम्म ल्याउनेलाइ डी र १ देखि २० अंक ल्याउनेलाइ इ संकेत दिइने निर्णय गरिएको छ। शून्य अंक ल्याउने वा परीक्षामा अमर्यादित काम गरेका विद्यार्थीलाइ नन ग्रेडेड उल्लेख गरिएको प्रमाणपत्र दिइनेछ।
पौडेलले भने, ‘विहिबारको वैठकले निर्णय गरेको छ। कार्यान्वयनका लागि सम्बन्धित निकायमा पत्राचार गरिनेछ।’ मन्त्रालयले नौ तहमा वर्गीकरण गरेर नतिजा सार्वजनिक गर्ने निर्णय गरेपनि शिक्षाकै केहि अधिकारी तथा शिक्षावीदहरुले भने धेरै तहमा वर्गीकरण गरेर विद्यार्थीलाइ उत्तीर्ण मात्र गराउन खोजेको टीप्पणी गरेका छन्।