धेरैजसो भर्खरै जन्मिएका नवजात शिशुहरूमा यदाकदा कमलपित्त (जन्डिस) देखिनु सामान्य नै मानिन्छ। नवजात शिशुहरूमा अर्थात् शिशु जन्मिएको केही हप्तामा त्यस्तो समस्या आइपर्नु सामान्य हुनुका साथै त्यो समस्या त्यति हानिकारक पनि हुने गर्दैन।
यो सामान्यतया नवजात शिशुको शरीरको सामान्य शारीरिक प्रक्रियामात्रै हो र धेरैजस्तो अवस्थामा नवजात शिशुहरूलाई दैनिक केही बेर घाम तपाएर राख्दा आफैं कम भएर पनि जानसक्छ । तर कहिलेकाहीँ र कुनै कुनै नवजात शिशुलाई चाहिँ प्रकाश चिकित्सा (फोटोथेरापी) नै अपनाउनुपर्ने आवश्यक पर्नसक्छ। प्रकाश चिकित्सा भन्नाले कमलपित्त (जन्डिस) घटाउने एक विशेष प्रकारको प्रकाश भन्ने बुझिन्छ।भर्खरै जन्मिएका नवजात शिशु वा केही हप्ता पुगिसकेका शिशुहरूमा वा स्तनपान गरिरहेका शिशुहरूमा उक्त कमलपित्त (जन्डिस) को समस्या केही समय अर्थात् नवजात शिशु तीन हप्ताको उमेर पुग्दासम्म पनि लम्बिन सक्छ।
यदि जन्डिस कम नभई दुईदेखि तीन हप्तासम्म पनि रहिरहन्छ भने नवजात शिशुका अभिभावक वा परिवार अलि बढी नै चनाखो हुन जरुरी हुन्छ। किनकि लामो समयसम्म जन्डिस रहिरहनुको तात्पर्य नै शिशुको कलेजोमा समस्या छ भन्नु हो।
यसरी नवजात शिशुमा लामो समयसम्म जन्डिस रहिरहँदा त्यसलाई सर्वप्रथम नवजात शिशुका आमाबाबु र परिवारका अन्य सदस्यहरूले थाहा पाउने हो। त्यसका अलावा नवजात शिशुलाई बालरोग विशेषज्ञकहाँ जचाउन लगिँदा वा खोप केन्द्रहरूमा खोप लगाउन लगिँदासमेत उक्त समस्याबारे स्वास्थ्यकर्मीहरूबाट थाहा पाउन सकिन्छ।
यी समस्याहरू सामान्यतः आफैं ठीक भएर जाने हुँदा चिकित्सकीय सरसल्लाह लिनसमेत ढिलो हुनसक्छ। तर समयमै र उचित निदानको अभावमा रोगले जटिल रूप लिन पुग्छ।हामीले रोगलाई सजिलै र ठूलो आर्थिक व्ययभारबिना नै उपचार गराउनसक्ने मौका गुमाउन पुग्छौं।
रोगले च्याप्दै जाँदा जटिलता यतिसम्म बढ्छ कि रोग प्राणघातकसमेत बन्न सक्छ । अर्थात् रोग उपचारै गर्न नसकिने अवस्थामा समेत पुग्न सक्छ वा तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था पनि आइपर्न सक्छ।
त्यस्ता सामान्य रोगहरूलाई हाम्रो अपरिपक्वताका कारण वा अज्ञानताका कारण वा हामीलाई ज्ञान हुँदाहुँदै पनि हाम्रो लापरबाही गर्ने बानीका कारण यदि समयमै उपचार नगरी त्यसै छाडिदिँदा नवजात शिशु वा शिशुहरूमा तत्कालका लागि खासै ठूलो समस्या नदेखिए पनि शिशु बढ्दै जाँदा तिनमा जटिल र दीर्घकालीन कलेजो रोग लाग्नसक्छ।
त्यो त भयो धेरै लामो र दीर्घकालीन असर। रोगलाई समयमै उपचार नगरिँदा शिशुहरूमा तत्कालीन असरसमेत पर्न जान्छ। रोगका बारेमा गलत अर्थ लगाउँदा वा रोगको अपव्याख्या गरिँदा वा बेवास्ता गरिँदा लामो समयसम्म शिशुहरूमा देखा पर्ने कमलपित्तका घटना-परिघटनाहरूमध्ये शिशुहरूलाई रोग लागेको दुई महिनासम्म पूर्णतया स्वस्थ देखिए पनि दुई महिनापछि भने तिनको स्वास्थ्य अवस्था खस्कँदै जान थाल्छ र त्यस बेलासम्म हामीले रोगी शिशुलाई उचित र निश्चित औषधोपचार गरी तिनलाई कलेजोरोगबाट मुक्त पार्ने मौका गुमाइसकेका हुन सक्छौं।
यस रोगमा सबैभन्दा महत्वपूर्ण र खतरायुक्त अवस्था भनेको कलेजोबाट बाहिर निस्किने एक प्रकारको पित्तनली राम्ररी नखुल्नु वा विकसित नहुनु नै हो। यो जन्मजात रोग हो। त्यस अवस्थामा पित्त अवरुद्ध हुन्छ, जसलाई अंग्रेजीमा Biliary Atresia भनिन्छ।
यस रोगमा ३० देखि ५० दिनभित्र रोगी शिशुको शल्यक्रियात्मक उपचार नगर्ने हो भने त्यसले अन्ततोगत्वा रोगी शिशुको कलेजोलाई नै क्षति पुर्‍याउन थाल्छ।तसर्थ, भर्खरै जन्मिएका नवजात शिशुहरूमा दुई हप्ताभन्दा बढी समयसम्म र स्तनपान गर्दै रहेका ससाना शिशुमा तीन हप्ताभन्दा बढी समयसम्म कमलपित्त (जन्डिस) रही नै रह्यो भने तत्कालै बालबालिकाका कलेजो रोग विशेषज्ञसँग परामर्श गरिहाल्नु अति नै अपरिहार्य हुन आउँछ।
यदि जन्डिस कम नभई दुईदेखि तीन हप्तासम्म पनि रहिरहन्छ भने नवजात शिशुका अभिभावक वा परिवार अलि बढी नै चनाखो हुन जरुरी हुन्छ। किनकि लामो समयसम्म जन्डिस रहिरहनुको तात्पर्य नै शिशुको कलेजोमा समस्या छ भन्‍नु हो।
कमलपित्त रोग भइरहेको अवस्थामा शिशुहरूले सेतो दिसा गर्ने र कडा गाढा पहेँलो पिसाब फेर्ने गर्न सक्छन्। बालबालिकाका पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श गरिसकिएपछि विशेषज्ञले रोगी शिशुको कलेजोको पूर्ण कार्य क्षमता बारेको जाँच, पेटको भिडियो एक्स-रे र सम्बन्धित अन्य विशेष जाँचपड्तालका माध्यमबाट शिशुहरूमा लामो समयसम्म कमलपित्त गराइराख्ने कारक तत्वबारे पत्ता लगाउनुका साथै तिनलाई कस्तो प्रकारको औषधोपचार पद्धति अपनाउने वा शल्यक्रियात्मक उपचार विधि अपनाउने भन्ने निक्र्योल गर्न सक्छन्।
कुनैकुनै कमलपित्त लामो समयसम्म रहिरहे पनि तिनको तत्कालै शल्यक्रिया गराइहाल्नुपर्ने अवस्था नपर्ने पनि हुनसक्छ।लामो समयसम्म शिशुका शरीरमा कमलपित्त गराइरहने अन्य रोगमा थाइराइड हर्मोनको कमी हुनु, नवजात शिशुकै अवस्थामा वा शैशव अवस्थामा शरीरमा कडा खाले संक्रमण हुनु, शिशुको पिसाबको नलीको संक्रमण हुनु र नवजात शिशुमा कुनै प्रकारको कलेजो सुजन (हेपाटाइटिस) हुनु आदि प्रमुख छन्।
ती रोगमध्ये अधिकांश निश्चित औषधिमूलोपश्चात् कम भएर जान्छन्। अन्य रोगहरूमा कलेजोभित्र वा बाहिरी सतहमा ससाना डल्लाहरू उत्पन्न भई त्यहाँ तरल पदार्थ जम्मा हुनु पनि एक प्रमुख हो, जसलाई Coledocal Cyst भएको भनिन्छ। उक्त अवस्थाको उपचार शल्यक्रियाकै माध्यमबाट गरिने भए पनि तत्कालै शल्यक्रिया गर्नु भने यस अवस्थामा आवश्यक पर्दैन।
तिनका अलावा शिशुको जीवनलाई नै खतरामा पार्ने अन्य केही रोगमा शिशु जन्मँदा आमाको गर्भबाट संक्रमण भएर वा सरेर आउने रोगहरू, वंशानुगत केही रोग वा पाचन रसको कमी भएर हुने जटिलताहरू प्रमुख पर्छन्। यी रोगमा वा समस्यामा पनि रोगी बच्चा सुरुदेखि नै लामो समयसम्म कमजोर हुने, रोगी हुने आदि समस्या पर्नसक्छ र सम्बन्धित उपचारमा अत्यन्त महँगो परीक्षणहरूका साथ उपचार पद्धति अपनाउनुपर्ने हुन्छ भने केही परीक्षण विदेशमा गराउनुपर्ने हुनसक्छ।
माथिका सबै अवस्थामध्ये केही रोगको समयमै चिकित्सकीय सल्लाह नलिँदा शिशुहरूमा रोगको पहिचान ढिला हुन जान्छ र ज्यादै दुर्भाग्यपूर्ण अवस्थामा हामी पर्दछौं। सुरुसुरुमा शिशु स्वस्थ देखिए पनि विस्तारै त्यसले शिशुको कलेजोमा अपूरणीय क्षति पुर्‍याउने हुँदा पछि गएर रोगीको कलेजो प्रत्यारोपण गर्नुभन्दा अर्को विकल्प हामीसँग नहुन सक्छ।
कल्पना गरौं, एक शिशुको वा ससाना अबोध बालबालिकाको कलेजो प्रत्यारोपणको कुराले हामीलाई मानसिक, पारिवारिक, सामाजिक एवं आर्थिक रूपमा कस्तो समस्यामा पार्ला?तसर्थ, आफ्ना ससाना शिशु वा नवजात शिशुमा जन्मिएको दुईतीन हप्ताभन्दा बढी समयसम्म तिनको दिसाको रङ परिवर्तन हुँदै वा नहुँदै पनि कमलपित्त (जन्डिस) रहिरहेको देख्ने वा थाहा पाउने प्रत्येक आमाबाबुले तत्कालै बालबालिकाका पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श गरौं र आइपर्नसक्ने अनावश्यक तथा दुखद भवितव्यबाट आफू र आफ्ना शिशुलाई बचाऔं।
समयमै गरिने उचित जाँच र रोगको पहिचानले शिशुहरूले रोगका लागि सही उपचार पाउन सक्छन्। त्यो कार्य समयमै नगरिँदा भने शिशुहरू रोगको सही उपचार पाउनबाट वञ्चित हुने हुँदा अभिभावक बढी नै चनाखो हुनु अति जरुरी छ।
-लेखक नर्भिक इन्टरनेसनरल हस्पिटलमा कार्यरत बालबालिकाका पेट तथा कलेजो रोग विशेषज्ञ हुन्।