नेपालगञ्ज। बिहिबार बिहानदेखि पूर्वको जोगबनी र पश्चिमको नेपालगञ्ज रुपडिया नाकामा सवारी अावात जावात सहज बनेको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन कम हुँदै गएपछि विराटनगर भन्सारबाट जाँचपास सहज हुन थालेको छ। सीमास्थित नेपाल प्रहरीका अनुसार जोगबनी नाका पहिलेभन्दा धेरै सजिलो हुन थालेको हो।
भारतले लगाएको अघोषित नाकाबन्दी पनि जोगबनी नाकामा ‘हटेजस्तो’ महसुस गरिएको अधिकारीहरू बताउँछन्। सीमा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विकास खत्रीका अनुसार बुधबार र बिहीबार विहान ठूलो परिमाणमा पेट्रोलियम पदार्थ र ग्यास भित्रिएको छ।
खत्रीका अनुसार १५ बुलेट ग्यास, ४३ ट्याङ्कर डिजेल र ११ ट्याङ्कर पेट्रोल भित्रिएको हो। तीन चार दिनयता थोरै आइरहेको ग्यास र पेट्रोलियम पदार्थ बिहीबार बिहान धेरै भित्रिएपछि बजारमा भइरहेको असहजतामा राहत मिल्ने अपेक्षा गरिएको छ।
‘आज विहान ९ बजेसम्ममा यतिको परिमाणमा ग्यास आइपुगेको हो,’ खत्रीले सेतोपाटीसँग भने, ‘यो निकै ठूलो परिमाणको ग्यास हो।’ बुधबार साँझसम्ममा तीन वटा बुलेट, ३१ डिजेल र ८ पेट्रोल भित्रिएको थियो। बिहीबार एकैचोटीमा १४ बुलेट ग्यास, १२ डिजेल र ३ वटा पेट्रोलका ट्याङ्कर भित्रिएको हो।
आज बिहान ११ बजेसम्म पेट्रोलियम पदार्थ बोकेका २७ वटा ट्यांकर नेपाल भित्रिएका छन्। नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र माल बाहक ट्रकहरु भित्रने क्रम जारी छ।
नाकाबन्दी शुरु भए यता एकै पटकमा ठुलो संख्यामा पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र माल बाहक ट्रकहरु भित्रिएको पहिलो पटक भएको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले जनाएको छ ।
हिजो पनि साझ र बिहान गरी २७ वटा पेट्रोलियम पदार्थ बोकेका ट्यांकरहरु नेपाल भित्रिएका थिए। आज डिजलका १९ र पेट्रोलका ५ ट्यांकर भित्रिएका हुन । अन्य मालबाहक ट्रक समेत ८० वटा भित्रिसकेका छन।
पछिल्लो दुई साता यता तनाबग्रस्त रहेको नेपालगन्ज नाका केहि खुकुलो भएको छ । पेट्रोलियम पदार्थ बोकेका ट्यांकरको नेपाल प्रवेशमा कडाई गर्दै आएको भारतीय भन्सारले र सीमा सुरक्षाबल एसएसबीले रुपैडियामा लामो समयदेखि आफैले रोकेका सवारी साधनलाई छाडेको हो ।