ऐजेन्सी। विश्व फुटबल महासंघ (फिफा)ले सन् २०१५को ‘फिफा बर्ष खेलाडी’ पुरस्कारका लागि तीन खेलाडी मनोनयन गरेको छ। फिफाले आफ्नो वेभसाइटमार्फत सार्वजनिक गरेको अन्तिम सूचीमा बार्सिलोनाका अर्जेन्टिनी खेलाडी लियोनल मेसी र ब्राजिली खेलाडी नेयमार छन्।
रियल म्याड्रिडबाट खेलिरहेका पोर्चुगलका क्रिस्चियानो रोनाल्डो पनि मनोनयनमा परेका छन्। मनोनयनमा परेका तीनै खेलाडी स्पेनमा व्यवसायिक फुटबल खेलिरहेका छन्।
फिफामा आवद्ध २०७ राष्ट्रका प्रमुख प्रशिक्षक र कप्तानका साथै फिफाले मनोनयन गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिले गरेको मतदानको नतिजाअनुसार यो सूची तयार गरिएको फिफाले जनाएको छ।
मेस्सीले यसअघि चारपटक ‘फिफा प्लेयर अफ दि इयर’ अवार्ड हात पारिसकेका छन्। उनले सन् २००९, सन् २०१०, सन् २०११ र सन् २०१२मा लगातार चारपटक अवार्ड जितेका हुन्।
सन् २००८मा पहिलोपटक यो अवार्ड हात पारेका रोनाल्डो पनि तीन पटक अवार्ड जितिसकेका छन्। सन् २०१३ र सन् २०१४मा यो पुरस्कार उनैले प्राप्त गरेका थिए। मेसी र रोनाल्डो दुवै सन् २००७ देखि लगातार मनोनयन भइरहेका छन्। नेइमार भने पहिलोपटक यो अवार्डका लागि मनोनयनमा परेका हुन्।