काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सत्तारूढ दल भारतीय जनता पार्टीका नेता विजय जोलीसँग भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाएर सहयोगी मित्रको परिचय दिन आग्रह गरेका छन् । नेता जोलीसँग बिहीबार भएको भेटमा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन्।

ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘भारतले नेपालमाथि लगाएको नाकाबन्दीको विषयमा नो कम्प्रोमाइज। तत्काल नाकाबन्दी खोल्दै सहयोगी मित्रको परिचय दिनु होस्।’ ओलीले नाकाबन्दी किन र केका लागि गर्नुपरेको भनेर जोलीसँग जिज्ञासा राखेका थिए।
मधेसमा जारी आन्दोलन नेपालको विषय भएकाले त्यसले चाँडै निकास पाउने विश्वास ओलीले दिलाएका थिए । नाकाबन्दीका विषयमा भारतसँग कुनै सम्झौता हुन नसक्ने ओलीको भनाइ थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार जोलीले नेपालका जारी नाकाबन्दीबारे प्रधानमन्त्रीसँग जानकारी लिएका थिए।
भारतले नेपालमा घोषित वा अघोषित कुनै पनि रूपमा आर्थिक नाकाबन्दी नलगाएको दाबी गर्दै उनले नेपालमा बढ्दो असुरक्षाका कारण भारतीय निजी सवारी चालक प्रवेश गर्न नमानेकोले यस्तो अवस्था आएको बताए।
उनले भने, ‘सामान बोकेका निजी सवारीसाधनका चालकहरू सुरक्षाको कारण देखाउँदै नेपाल जान चाहँदैनन्। सुरक्षा भयो भने उनीहरू नेपाल आउन तयार छन्।’
जोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।