काठमाडौं। भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण आर्थिक अवस्था जरजर बन्न पुगेको शिक्षण अस्पतालमा अचानक विद्युत ‘सर्ट’ हुँदा मंगलबार राती देखिशल्यक्रिया सहित विद्युतको माध्यमबाट दिइने सबै प्रकारका स्वास्थ्य सेवा ठप्प भएका छन।
जापान सरकारले जमिन मुनि विछ्याएको विद्युतको लाइनमा अचानक खराबी आएपछि बुधबार तय गरिएका ‘किड्नी ट्रान्सप्लान्ट’, ‘गाइनो’, ‘अर्थोपेडिक’, ‘इ.एन.टी’, पेट लगायतका १९ वटा शल्यक्रिया रोकिन पुगेका छन। विद्युत आपुर्तिका लागि जेनेरेटर सञ्चालन गरिए पनि ती कुनै पनि बेला बन्द हुने जोखिम बढेपछि अस्पतालको आईसीयु, एनआईसीयु र पोष्ट अप्रेटिभ विभागमा रहेका बिरामीलाई अन्य अस्पताल सार्न थालिएको छ।
बुधबार मात्रै आई.सी.यु विभागमा उपचार गराइरहेका तीन जना बिरामीलाई बीर, किष्ट, मनोमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा सारिएको विभागका प्रमुख डा. सुवास आचार्यले जानकारी थिए। अस्पतालको मुख्य आई.सी.यु विभागमा भेन्टिलेटरका साथमा ६ जना बिरामीको उपचार भइरहेको छ।
दुई जना सिकिस्त बिरामीलाई बाहिर लैजान अनुरोध गरेपनि उनीहरुका आफन्तले नमानेपछि जोखिममै उपचार भइरहेको छ।मेडिकल आई.सी.युमा भर्ना गरिएका दुई जना बिरामी मध्ये एक जनाको अवस्था गंभिर बनेपछि भेन्टीलेटरका लागि मुख्य आई.सी.युमा सारिएको छ।
‘अस्पतालमा कुनै समस्या आएपछि हाम्रो सबैभन्दा चासो बिरामी कसरी बचाउने भन्नेमा रहन्छ,’ डा. आचार्यले अन्नपूर्णसँग भने, ‘त्यसैले हामीले सबै सहयोग गरेर उपयुक्त अस्पतालमा बिरामीलाई पठाएका छौं।’
अस्पताल परिसरमा जमिन मुनि विछ्याएको विद्युतको लाइनमा अचानक खराबी आएपछि बुधबार तय गरिएका ‘किड्नी ट्रान्सप्लान्ट’, ‘गाइनो’, ‘अर्थोपेडिक’, ‘इ.एन.टी’, पेट लगायतका १९ वटा शल्यक्रिया रोकिए।
विद्युतकै कारण रोग जाँचका लागि अत्यावश्यक मानिने एमआरआई, सिटीस्क्या,एक्सरे लगायत रेडियोलोजी सेवा समेत बन्द गरिएको अस्पतालका मुख्य लेखा अधिकृत सुशिलले थापाले बताए। ‘आकश्मिक उपचारका लागि आएका सिकिस्त र अस्पतालमा भर्ना गर्नु पर्ने बिरामीलाई सहकार्य गरी अन्य अस्पताल पठाइएको छ,’ थापाले अन्नपूर्णसँग भने,‘ बिरामीलाई दुःख नहोस भन्नेमा हामी सचेत बनेका छौं।’
विद्युतका कारण मिर्गौला ट्रान्सप्लान्टको सेवा समेत रोकिंदा बिरामीको ज्यानसमेत जोखिममा परेको छ। बुधबार मात्रै दुई जनाको मिर्गौला ट्रान्सप्लान्ट गर्ने तयारीमा चिकित्सक जुटेका थिए। रगत जाँच लगायत प्याथोलोजीको काम समेत प्रभावित भएका छन।
 थापाका अनुसार विद्युत सर्ट भएपछि अस्पतालमा रहेका ९ वटा जेनेरेटरबाट विद्युत आपूर्ति भइरहेको छ । तर ती अधिकांश जनेरेटर पुराना भएकाले कुनै पनि बेला बन्द गर्नु पर्ने भएको छ।
जनेरेटरका लागि डिजल जुटाउन समेत अस्पताललाई हम्मेहम्मे परेपछि अस्पतालको सेवा झन प्रभावित बनेको हो। ‘विद्युत सर्ट हुनासाथ सुरुमा आकश्मिक कामका लागि राखिएको ५ सय लिटर डिजलले काम चलायौ तत्कालका लागि नेपाल आइल निगमसँग तीन हजार लिटर डिजेल मागेकोमा एक हजार मात्रै दियो,’ थापाले भने,  ‘मंगलबार राती ८ बजे विद्युत सर्ट भएपछि आज विद्युत रोकिनुको कारण पत्ता लगाउन काम सुरु गरेका थियौं तर बुधबार दिउसो एक बजे मात्रै विद्युत सर्ट भएको पत्ता लाग्यो।’
जमिन खनेर पुन विद्युतको पाइप विछ्याउन समय लाग्ने भएकाले तत्कालका लाग जमिनमाथीबाटै विद्युतको लाइन जोड्न तयारी भइरहेको उनले बताए।’ बिरामीलाई मर्का नपरोस भनेर काम तिव्र पारिएको छ,’ उनले भने, ‘सबै काम सक्न समय भने अझै लाग्ने देखियो त्यही भएर बिरामीलाई पनि अन्य अस्पतालमा उपचारका लागि पठाउन थालिएको हो।’
अस्पताल पसिरमा रहेको महाराज नर्सिङ कलेज र बिपि कोइराला आँखा केन्द्रको भनवको बीचमा विद्युत सर्ट भएको हो। अस्पतालको आर्थिक अवस्था कमजोर भइरहेका बेला अव तत्कालै विद्युत आपूर्ति सहज बनाउन ९ लाख रुपैयाँ सम्म लाग्ने विद्युतका कर्मचारीले अनुमान गरेको थापाले बताए।