बेल्जियमका प्रधानमन्त्री शार्ल मिसेलले राजधानी ब्रसल्स क्षेत्रमा कम्तीमा आउँदो सातासम्म उच्च सुरक्षा सतर्कता कायम रहने बताएका छन्।

प्यारिसमा जस्तै आक्रमणको खतरा रहेकोले सुरक्षा उक्त कदम चालिएको उनले बताए।

यद्यपि प्रधानमन्त्री मिसेलले बुधबारदेखि विद्यालयहरु र राजधानीमा मेट्रो सेवा सञ्चालनमा ल्याइने बताए।

बेल्जियमका अभियोजनकर्ताका अनुसार प्रहरीले चौथो व्यक्तिमाथि आतंकवादसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोप दायर गरेको छ। ‍

आरोप

उनको नाम चाहिँ खुलाइएको छैन्।

उनी आइतबार सुरक्षा कारवाहीका क्रममा पक्राउ गरिएका १६ जनामध्येका एक हुन्।

बाँकी मानिसहरुलाई बिना कुनै आरोप रिहा गरिएको छ।

संघीय अभियोजनकर्ताको कार्यालयद्वारा जारी एउटा विज्ञप्तिमा ती व्यक्तिमाथि एउटा आतंकवादी समूहको गतिविधि र आक्रमणमा संलग्न रहेको आरोप लगाइएको उल्लेख छ।

अभियोजनकर्ताका अनुसार सोमबार पक्राउ परेका थप पाँच जनामध्ये दुईजनालाई रिहा गरिएको छ भने बाँकीको हकमा थप अनुसन्धान भइरहेको छ।

पक्राउ

यसअघि २७ वर्षीय मोहम्मद अम्री र २० वर्षीय हम्जा अत्तोउमाथि प्यारिस आक्रमणका मुख्य संदिग्ध सलाह अब्देसलामलाई सहयोग गरेको आरोप लगाईएको छ।

नाम नखुलाइएका तेस्रो व्यक्तिमाथि पनि आरोप लगाइएको छ।

अब्देसलाम अझै पक्राउ पर्न सकेका छैनन्।

नोभेम्बर १३ तारिखमा प्यारिसमा गरिएका आक्रमणहरुमा १३० जनाको ज्यान गएको थियो।