काठमाडौं : आन्दोलनका कारण ढुंगा र इँटका टुक्राले भरिएका वीरगन्जका सडकमा डरले काँपेका हातमा डाक्टरको पे्रस्क्रिप्सन च्याप्दै रगतका लागि मध्यरात घन्टौं भौंतारिए रौतहटका सच्चिन्द्र शर्मा ।
रगत पाउनसके ज्वरो र रक्तअल्पताले अर्धबेहोस १९ वर्षीया पत्नी प्रतिमालाई बचाउन सकिने झिनो आशा थियो उनमा ।तीन महिनादेखिको आन्दोलनले तनावग्रस्त वीरगन्जस्थित ब्लड बैंकले एक पिन्ट रगत पनि उपलब्ध गराउन सकेन ।
पत्नीको शरीरबाट रगतको बुँद जति घट्दै जान्थ्यो, सच्चिन्द्रको मन उति नै अतालिन्थ्यो । रगतका लागि हारगुहार निरर्थक हुँदा र भेन्टिलेटरसमेत उपलब्ध नभएपछि डाक्टरले प्रतिमालाई चितवन लैजान सिफारिस गरे । भारतमा मजदुरी गरेको कमाइले पत्नीको उपचार सम्भव नदेखेपछि रातारात उनले सानो घर र करेसाबारी देखाउँदै छिमेकीसँग दुई लाख रुपैयाँ ऋण लिए ।
चितवनमा पनि भेन्टिलेटर पाइएन । जीवनसाथीको जीवनरक्षाको जिम्मेवारीले आन्दोलन, इन्धनको अपर्याप्तता, चर्को भाडा र एम्बुलेन्समा पनि आक्रमणको डर गौण भए सच्चिन्द्रका लागि । औलोले सिकिस्त प्रतिमालाई काठमाडौंको मनमोहन मेमोरियल तथा शिक्षण अस्पताल ल्याइपुर्याउनासाथ आईसीयूमा भर्ना गरियो । अर्धबेहोस प्रतिमाको अनुहार हेर्दा रोगले लैजान्छ कि भन्ने डर थियो । त्यो शिथिल र जीवनको याचना गरिरहेको अनुहारमा कयौं साताको उपचारपछि देखिन थालेको उज्यालोले सच्चिन्द्रको आत्मविश्वास बढ्यो । आत्मविश्वाससँगै उनी झल्याँस्स पनि भए, उनको टाउकोमा ठूलै ऋण पो थोपरिएको छ ।
ऋण खोजेको पैसा सकिन लागेपछि थप पैसा जुटाउनुभन्दा उपचारपछि डाक्टरको निगरानीमा रहेकी प्रतिमालाई हतारमा अस्पतालसँग जिद्दी गर्दै डिस्चार्ज गराएर घर पुर्याए उनले । घर पुगेको केही दिनमै प्रतिमाको ज्वरो उल्टिएको छ । तर सच्चिन्द्रसँग अब आन्दोलनबीच थप ऋण गरेर प्रतिमालाई उपचारका लागि काठमाडौं ल्याउने न हिम्मत छ, न त परिस्थिति नै । ‘उनलाई फेरि ज्वरो आउन थालेको छ । पैसा त जसोतसो जुटाउन सकिएला तर काठमाडौंसम्म कसरी पुर्याउने ? ’ सच्चिन्द्रले रौतहटबाट टेलिफोनमा अन्नपूर्णसँग भने, ‘एम्बुलेन्स तोडफोड भइरहेको छ । औषधिमा आगो लागिरहेको छ । बल्लतल्ल बाँचेकी मेरी श्रीमतीलाई रगताम्मे बनाउनु छैन मलाई ।’
मोरङमा अक्सिजनसहित बिरामी बोकेको एम्बुलेन्समाथि आक्रमण भएको सम्झिँदा सच्चिन्द्रको मन चिसो हुन्छ । सच्चिन्द्रको गाउँमा औलोले ग्रसित दर्जनौं गर्भवती र बालबालिका उपचार नपाएर छट्पटाइरहेका छन् । मधेसकेन्द्रित दलको आन्दोलन नियन्त्रणभन्दा बाहिर जाँदा परिस्थिति कस्तो निम्तिएको छ भने जीवन बचाउन घरबाहिर निस्किँदा झनै मृत्युको मुखमा पुगिने हो कि भन्ने त्रास छ ।
संविधानमा असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले तीन महिनादेखि चर्काएको आन्दोलन र त्यसलाई साथ दिँदै भारतले लगाएको नाकाबन्दीले सच्चिन्द्रजस्ता लाखौं तराईबासीले कठिनपूर्ण अवस्था बेहोर्नुपरेको छ । बिरामीको अवस्था त झन् कहालीलाग्दो छ । आन्दोलनको भयले स्वास्थ्य केन्द्रहरूमा महिनौंदेखि ताला लाग्दा ‘भगवान् भरोसा’ भन्दै घरमै थलिनुपर्ने बाध्यता छ । आन्दोलनकारीले स्वास्थ्य संस्थासमेत खोल्न नदिँदा मधेसका सर्वसाधारण मृत्युको मुखमा पुगेका छन् । यसले आन्दोलन मधेसीका लागि हो भन्नेमा स्थानीयको मनमा गहिरो शंका उब्जाएको छ ।
मधेस आन्दोलनले पत्नीको उपचारमात्र होइन, परिवार धान्ने भारतको मजदुरीसमेत खोसिने हो कि भन्ने पिर छ सच्चिन्द्रलाई । ‘उपचार नपाएर मर्नुपर्ने अवस्था आएको छ गाउँमा । म पो सचेत थिएँ । श्रीमती र आफ्नै पनि ज्यानको बाजी लगाएर उपचारका लागि एकपटक भए पनि काठमाडौंसम्म पुगें’, उनी फोनमै भक्कानिए, ‘अरूको यस्तो हिम्मत देख्दिनँ ।’
ढिलो गरी उपचारका लागि काठमाडौं आउँदा सप्तरीका विज्ञान चौधरीले टिटानसकै कारण यसै साता ज्यान गुमाउनुपर्यो । रौतहटका एक स्वास्थ्यकर्मीका अनुसार औषधि र स्वास्थ्यकर्मी भेटिन्छन् कि भन्दै औलो, जन्डिस, झाडापखाला, जापानिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोगका बिरामी महिनौंदेखि ताला लागेका स्वास्थ्यचौकीमा भौंतारिरहेका छन् । औषधि ढुवानीलाई सहज बनाउने घोषणा गरेको १२ घन्टा नबित्दै औषधि बोकेको ट्रकमा आगो लागेको छ ।
राज्यकोषबाट करोडौं खर्चेर खरिद गरिएका औषधि मेडिकल स्टोर र स्वास्थ्य केन्द्रमा कुहिन थालेका छन् । ‘कति रोगले ग्रस्तहरू फर्कने साहस बटुल्न नसकेर स्वास्थ्य संस्थाहरूकै पेटीमा लडिरहेको मैले देखेको छु’, ती स्वास्थ्यकर्मीले भने, ‘न हामीले उनीहरूलाई बचाउन सकेका छौं, न त उनीहरू बाँच्न अन्त जान सकेका छन् ।’
तराईका ८ जिल्लामा बन्दका कारण औषधि र स्वास्थ्यकर्मी नहुँदा तथा स्वास्थ्य संस्था बन्द हुँदा सर्वसाधारणले न गाउँमा उपचार गर्न पाएका छन, न त महँगो भाडा तिर्दै जोखिम मोलेर उपचारका लागि बाहिर जान सकेका छन् । सचेत केही आफन्तले गाडा र रिक्सामा बिरामी बोकेर हिँड्दा पनि आन्दोलनकारीले केरकार गर्ने गरेका छन् ।
जोखिम मोलेरै काठमाडौं आएकाहरूले पनि पैसा अभावमा राम्ररी उपचार गर्न सकेका छैनन् । स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले तराईबाट बन्द छिचोल्दै काठमाडौं आएका बिरामी उपचारका लागि याचना गर्दै आफूकहाँ समेत धाएको बताए । ‘१० बर्से जनयुद्धमा पनि बिरामीले यति कठोर परिस्थिति सामना गर्नुपरेको थिएन’, डा. मरासिनीले भने, ‘उपचार गरेर बाँच्न पाउने बिरामीको अधिकार कुण्ठित भएको छ ।’