लहान, ७ मङ्सिर । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सप्तरीमा शनिबार राति भएको झडपका कारण पूर्वपश्चिम राजमार्गको विभिन्न स्थानमा रोकिएका सवारी साधनलाई गएराति प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ । सप्तरीको रुपनी र भारदहमा भएको झडपका क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भएपछि पूर्वबाट आएका सवारी साधन सुनसरीको इटहरी, भण्टाबारीमा तथा काठमाडौँबाट आएका सवारी साधन महोत्तरीको बर्दिवास, लालगढलगायतका स्थानमा शनिबार साँझबाट रोकिएका थिए । पूर्वबाट आएका करिब ५०० भन्दा बढी सवारी साधन तथा पश्चिमबाट आएका करिब ४०० भन्दा बढी सवारी साधनलाई गएराति सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताउनु भयो । पूर्वबाट आएका सवारी साधनलाई कमला नदीको पुलसम्म र पश्चिमबाट आएकालाई बलानखोलाको पुलसम्म पु¥याएको प्रहरी नायब उपरीक्षक चतुर्वेदीले जानकारी दिनु भयो । सवारी साधनलाई सुरक्षा दिई लैजाने क्रममा सडक छेउछेउमा बसेका प्रदर्शनकारीहरुले ढुङ्गामुढा गरी सवारी साधनमा तोडफोड गरेका थिए । राजमार्गमा निषेधाज्ञाको समय बढ्यो सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ ।
संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध पु¥याउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा पु¥याएको हो । सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न आइतबारबाट प्रत्येक दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको बताउनु भयो । आन्दोलनरत पक्षको बन्द र विरोधका कार्यक्रम हिंसात्मक बन्न सक्ने भएकाले निषेधाज्ञाको समय थप गरिएको बताउनुहुँदै प्रजिअ विश्वकर्माले निषेधाज्ञालगाएका क्षेत्रमा यातायातका साधनको आवातजावतमा कुनै अवरोध नपु¥याउन आग्रह गर्नुभयो । मधेसी मोर्चाको आमहडतालका कारण जिल्लाको शान्ति सुरक्षा कायम राख्न र यातायात सञ्चालनका लागि भन्दै स्थानीय प्रशासनले गत कात्तिक ७ गतेदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान खोलाको पुलदेखि कमला खोलाको पुलसम्म दायाँ ५०० मिटर र बायाँ ५०० मिटरको क्षेत्रमा प्रत्येक दिन राति ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञा लगाउँदै आएको थियो । रासस