काठमाडौं : चीनसँग इन्धनको व्यापार सम्झौता गर्न सरकारी टोली शुक्रबार चीनको वेइजिङ्ग प्रस्थान गर्ने भएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचिब शम्भु घिमिरेको नेतृत्वमा सात सदस्यीय चीन जाने तयारी गरेको मन्त्रालयले जनाएको छ ।
आपूर्तिमन्त्री गणेशमान पुनले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएका हुन् ।
मन्त्री पुनका अनुसार घिमिरेको नेतृत्वमा कानुन, परराष्ट्र, अर्थ मन्त्रालयका प्रतिनिधि, गुणस्तर तथा नापतौल बिभाग र आयल निगमका प्राविधिक कर्मचारीसहित सात सदस्यीय टोली व्यापार सम्झौता गर्न जान लागेका हुन् ।
मन्त्री पुनले चीनबाट व्यापार सम्झौता गरेर आपूर्ति गर्न लागिएको इन्धनको मूल्यमा धेरै अन्तर नपर्ने दाबी गरे । उनले ढुवानीका कारण मात्र भारतको भन्दा चिनियाँं इन्धनको मूल्यमा हेरफेर हुन सक्ने बताए ।
‘ढुवानीका कारण मात्र सामान्य हेरफेर भएपनि भारतको मूल्यभन्दा मूल्यमा धेरै हेरफेर हुँदैन्’, मन्त्री पुनले भने ।
चीनबाट आपूर्ति गरिने इन्धनको दोहोरो कर नलगाउन चिनियाँ समकक्षीसँग अनौपचारिक छलफल गरिएको जानकारी गराउँदै मन्त्री पुनले चिनियाँपक्ष दोहोरो कर हटाउन सकारात्मक रहेको बताए ।
नेपाल–चीनबीच इन्धन आपूर्तिका लागि गत कातिक ११ गते बेइजिङ्गमा दुईपक्षीय सहमति भएको थियो ।
जसअनुसार नेपालका खपत हुने कूल मागको ३३ प्रतिशत चीनबाट आपूर्ति गर्ने उल्लेख छ । चीन सरकारको स्वामित्व भएको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन (पेट्रो चाइना) सरकारले इन्धन आपूर्ति गर्न लागेको हो ।