काठमाडौं । इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपाली जनताको दैनिक जीवन कष्टकर हुँदै गएकोमा जापानले गम्भीर चिन्ता ब्यक्त गरेको छ । काठमाडौंस्थित जापानी दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अहिलेको इन्धन तथा प्रेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक सामाग्री अभावले प्रतिकूल प्रभाव परेकामा हाम्रो गहिरो चासो रहेको छ ।’

जापानले पनि भारतको नाम नलिइकन अहिले परेको इन्धन अभावले नेपाली जनतामा गम्भीर समस्या परेको बताएको छ । औषधि, खाद्यान्न, अत्यावश्यक सवारी साधानसमेत संचालनमा आउन नसक्ने अवस्था, विद्यार्थीहरु हिँडेर विद्यालय जान पर्ने अवस्था देखिएपछि जापानलागायत अन्तराष्ट्रिय समुदायले चासो ब्यक्त गर्दै आएको छ ।

भूकम्प प्रभावितलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय एवं स्थानीय गैरसरकारी संस्थाले इन्धन अभावकै कारण प्रभावकारी रुपमा मानवीय गतिविधि सञ्चालन गर्न नसकेका पनि दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

दूतावासले आफ्ना मागहरु र समस्यालाई शान्तिपूर्ण ढंगले समाधान गर्न पनि आग्रह गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पारस्परिक सहयोग र समझदारीमा शान्तिपूर्ण ढङ्गले अहिलेको कठिन अवस्थाको अन्त्य गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछौ ।’ जापानले यसको साथै भूकम्पपछिको पुनर्निर्माणको कार्यका लागि नेपालको प्रयासमा आफ्नो सक्रिय सहभागिता र सहयोग रहने पनि उल्लेख गदै अन्य सहयोगमा निरन्तरताको जोड दिएको  छ ।

यसअघि राष्ट्रसंघका महासचिव वान कि मुनले भारतको नाम नै लिएर यस्तो मानवीय संकट आउने अवस्था सृजना नगर्न आग्रह गरेका थिए ।  मानवीय संकटको साथै राष्ट्रसंघले भूपेरिवेष्ठित मुलुकको पारवाहन अधिकारलगायतको विषयमा समेत भारतको ध्यानाकृष्ट गरेको थियो । त्यसअघि युरोपेली युनियन (ईयू) ले पनि यसैगरि आग्रह गरेको थियो । पहिलोपटक इयूले भारतीय अघोषित नाकाबन्दी नै बताएको थियो ।