काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सोमबार आमने सामने हुँदा नेपाल र पपुवा न्युगिनी (पीएनजी) दुवैसँग दबाब उत्तिकै हुनेछ। च्याम्पियनसिपको पहिलो चरणका खेलमा दुवै राष्ट्र दुई खेलमै पराजित भएकाले नेपाल र पीएनजी यूएईको अबुधाबीमा जितका लागि आतुर हुनेछन्।
नेपाल जुलाईमा स्कटल्यान्डसँग दुवै एकदिवसीय खेलमा पराजित भएको थियो। पीएनजीले पनि नेदरल्यान्ड्समा पहिलो दुई खेलमा खासै चुनौती तेस्र्याउन सकेन। दुवै राष्ट्र अंक तालिकाको पुछारमा छन्।
च्याम्पियनसिपको ८ मध्येको शीर्ष ६ टिमले २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोट खेलमा प्रतिस्पर्धा गर्न पाउनेछन्।