काठमाडौँ। तिहार मा भारतसँग जोडिएका सीमानाका तुलनात्मक रूपमा खुकुलो भएका छन् । तिहारको बिदायता दैनिक औसतमा दुई सय ५० को संख्यामा मालबाहक ट्रक–कन्टेनर नेपाल भित्रिएको भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले जानकारी दिए ।

तिहारको बिदामा भारतसँगको सीमानाका तुलनात्मक रूपमा केही खुकुलो भएको महसुस गरिएको छ,’ उनले भने । तिहारको समयमा भने धनगढी, भैरहवा, विराटनगर, नेपालगन्ज र काँकडभिट्टा नाका खुकुलो भएर सामान आयात भएको भन्सारले जनाएको छ ।

धनगढी र काँकडभिट्टा लगभग पूर्ण रूपले सुचारु भएको विभागले जनाएको छ । काँकडभिट्टाबाट दैनिक औसतमा एक सय ५० ट्रक–कन्टेनर आउने गरेकोमा तिहारको समयमा औसत एक सय ट्रक–कन्टनेर आइरहेको भन्सार विभागका महानिर्देशक ढुंगानाले बताए ।

तिहारमा एक सय ५० भन्दा बढी तेल बोकेका ट्यांकर आएको भन्सार विभागका महानिर्देशक ढुंगाना बताउँछन् । ‘तिहारको समयमा एक सय ५० भन्दा बढी इन्धन ट्यांकर आइसकेका छन्,’ उनले भने । त्यसमा धेरै डिजेल बोकेका ट्यांकर छन् ।

भारतले छानीछानी पठाउन छाड्यो

भारतीय सीमा क्षेत्रमा लाइनमा बसेका ट्रक–कन्टनेर पालैपालो आउन थालेका छन् । यसअघि लाइनमा रहेका ट्रक–कन्टनेरलाई भारतीय पक्षले छानीछानी पठाउने गरेको थियो ।

खासगरी तरकारी, फलफूललगायत चाँडै बिग्रने सामान बोकेका ट्रक–कन्टनेरलाई पठाएर इन्धन बोकेका ट्यांकर–बुलेटलाई भारतीय पक्षले रोक्ने गरेको थियो । तिहारको समयमा भने लाइनमा रहेका ट्रक–कन्टनेरलाई पालैपालो पठाउन थालेको हो । ‘लाइनमा बसेका ट्रक–कन्टनेर पालैपालो आउन थालेका छन्, भारतीय पक्षबाट छानीछानी पठाइएको छैन,’ उनले भने ।

मालबाहक सवारी भित्रिने क्रम जारी विराटनगर–जोगबनी नाकाबाट उल्लेख्य संख्यामा मालबाहक सवारी र इन्धन भित्रिएको छ । विराटनगर भन्सार कार्यालयका अनुसार शुक्रबार ८२ वटा इन्धनसहित दुई सय ८१ वटा मालबाहक सवारी नेपाल भित्रिएका छन् । यसैगरी, शनिबार दिउँसो १ बजेसम्म ६ वटा इन्धानसहित ८० वटा मालवाहक सवारी भित्रिएको छ ।

भन्सार कार्यालयका अनुसार शुक्रबार ६१ वटा डिजल, १३ वटा पेट्रोलका ट्यांकर तथा ६ वटा एलपिजी ग्यासका बुलेट नेपाल भित्रिएका थिए । शनिबार भित्रिएकामध्ये चारवटा डिजेल र दुईवटा ग्यासको बुलेट रहेको भन्सार कार्यालयले जनाएको छ ।