काठमाडौँ। भारतको अघोषित नाकाबन्दी तत्काल नखुल्ने भएपछि निगमको टोली इन्धन आयातको सम्भावना बुझ्न आज १ बजेर ३० मिनेट जादाँ बंगलादेश जान लागेका छ।
विमान एयरलाइन्सबाट  निगम प्रवक्ता मुकुन्द घिमिरे र इन्जिनियर विभाग प्रमुख वीरेन्द्र गोइत जाने निगमले जानकारी गराएको छ। इन्धनको चरम अभावपछि बंगलादेशबाट इन्धन आयात अध्ययन गर्न नेपाल आयल निगमको दुई सदस्य टोली त्यस  तर्फ जाने लागेको हो।
निगम प्रवक्ता तथा टोली प्रमुख मुकुन्द घिमिरेले आफुहरु मन्त्रालय र निगमको निर्देशनमा इन्धन आयातको अवस्था बुझन जान लागेको सेतोपाटी सँग बताए। टोलीले बंगलादेशमा आइतबार र सोमबार त्यहाँको सम्बन्धित निकायसँग इन्धन आयातको अवस्थामा छलफल गरी निचोडमा पुग्ने घिमिरेले बताए।
भारतले नाकाबन्दी गरेकोले स्थल मार्गबाट इन्धन ल्याउन सक्ने अवस्था नरहेकोले हवाई मार्गबाट नै इन्धन ल्याउने विषयमा छलफल केन्द्रित हुने उनको भनाई छ। तत्कालको लागि पेट्रोल, डिजल, ग्यास, मट्टितेल ल्याउन हवाइ मार्गबाट असहज भएपनि हवाई इन्धनको विषयमा भने केही सहज हुने समेत घिमिरेले बताए।उनका अनुसार निगम टोलीले आइतबार र सोमबार त्यहाँ छलफल गरी मङ्गलबार नेपाल प्रस्थान गर्ने छ।
यसअघि निगमका कार्यकारी निर्देशक खड्काले पत्रकार सम्मेलन गर्दै बंगलादेशबाट इन्धन ल्याउन बारेमा अध्ययन गरिने बताएका थिए। ‘भारत र चीनपछि बंगलादेश पनि इन्धन आयातका लागि राम्रो गन्तव्य हुन सक्छ,’ घिमिरेले भने, ‘ल्याउन सकिन्छ कि भनेर नै अध्ययन सुरू भएको हो।’ अध्ययन पश्चात थप प्रक्रिया अघि बढाइने निगमले जनाएको छ।
‘मुलुकमा इन्धनको चरम अभाव छ। आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई सम्पूर्ण अधिकार दिइएको छ। सोहीअनुसार अध्ययन टोली बंगलादेश जाने लागेको हो। अध्ययन टोलीले सम्भावित व्यापारलगायत सबै हेर्ने छ,’ उनले भने। निगमसँग पर्याप्त रकम भएकाले बंगलादेशबाट आयात गर्न सम्भव भए निगमले स्वयम् खरिद गर्ने जनाएको छ।
भारतको नाका अवरोधले पर्याप्त इन्धन आयात हुन सकेको छैन। हालसम्म नेपालमा भारतबाट मात्रै इन्धन ल्याउने गरिएको छ। भारतको एकाधिकार रहेकाले समस्या उत्पन्न भएकाले सरकारले अन्य विकल्पहरूको अध्ययन समेत गरिरहेको उनले बताए।
‘निगमले अब पेट्रोल र डिजेल सुरक्षा निकाय र अत्यावश्यक निकालाई मात्रै वितरण गरिने छ,’ घिमिरेले भने, ‘हवाई इन्धनको मौज्दात पनि अन्तिम अवस्थामा छ।’