एजेन्सी। पाकिस्तानसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्यााण्ड विजयी भएको छ । एलेक्स हेल्सले शतकीय पारी खेलेपछि इंग्ल्याण्डले पाकिस्तानलाई ९५ रनले हराएर चार एक दिवसीयको श्रृँखलामा १–१ को बराबरी गरेको छ ।

इंग्ल्याण्डले प्रस्तुत गरेको दुई सय ८४ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५ दशमलव ५ ओभरमा एक सय ८८ रन बनाउँदा अलआउट भयो । पाकिस्तानका सर्फराज अहमदले ६४, अवर अलीले २३, अजहर अलीले २२, मोहम्मद रिजवानले १७, यासिर शाहले १६ तथा शोएब मलिकले १३ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन ।

इंग्ल्याण्डका क्रिस वोक्सले चार तथा डेभिड विलीले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा दुई सय ८३ रन बनायो ।

इंग्ल्याण्डका एलेक्स हेल्सले एक सय ९, जोए रुटले ६३, ज्यासन रोयले ५४ तथा ओएन मोर्गनले २९ रन बनाए । पाकिस्तानका वाहब रियाजले तीन तथा मोहम्मद इरफान र इफतिकर अहमदले एक एक विकेट लिए ।