काठमाडौं । नेपाल आयल निगमले मंगलबारबाट निजी र सार्वजनिक सवारीसाधनलाई इन्धन उपलब्ध नगराउने भएको छ । निगमले सोमबार सुरक्षा निकायबाहेकका सवारीसाधनलाई इन्धन दिन नसक्ने निर्णय गरेको हो ।

नियमित तथा वैकल्पिक मार्गबाट इन्धन नआएको र थोरै भएको मौज्दात पनि सकिएकाले सुरक्षा निकायबाहेक अन्य सवारीलाई इन्धन दिन नसकिने आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

‘हामीसँग मौज्दात इन्धन छैन, थोरै भएको मौज्दात सेक्युरिटीका लागि राख्छौँ,’ उनले भने, ‘आज (सोमबार) सम्मको विषम परिस्थिति र आपत्का वेलासम्म हामीले इन्धन आपूर्ति गर्न सक्यौँ, अब सक्ने अवस्थामा छैनौँ ।’ निगमका निर्देशक मुकुन्द घिमिरेले पाँच दिनयता भन्सार छुटेर एउटा पनि इन्धन बोकेका ट्यांकर नआएको र मौज्दात पनि सकिएकाले अप्रिय निर्णय लिनुपरेको बताएको छ ।

कार्यकारी निर्देशक खड्काले चीनबाट आउने अनुदानको तेल सुरक्षा निकायलाई केही दिन वितरण गर्न पुग्ने र थप तेल नभएको पनि बताए । सुरक्षा निकायलाई वितरण गर्न पनि धेरै तेल नरहेको उनको भनाइ छ । ‘हामीसँग भएको मौज्दातले केही दिनका लागि सुरक्षा निकायलाई दिन सकिन्छ,’ उनले भने ।