काठमाडौ। मन्त्रिपरिषद्को सोमबारको बैठकमा भारतले लगाएको अघोषित नाकाबन्दी र त्यसले आपूर्ति व्यवस्थामा परेको गम्भीर असरबारे छलफल गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।
नेपाल भारतका सीमा नाकाहरुमा भइरहेको पारवहन तथा आपूर्ति व्यवस्थामा देखिएको अवरोधको स्थिति समाप्त गरी अत्यावश्यक वस्तुहरुको आयातनिर्यात नियमित गर्न एवं दुई देश वीचको सम्बन्धलाई सुमधुर तथा सुदृढ तुल्याउने कार्यमा योगदान गर्न मन्त्रिपरिषद्ले भारतसँग आग्रह गरेको छ ।
मन्त्रिपरिषद्ले पारित गरेको विशेष प्रस्तावमा विद्यमान समस्या समाधानको लागि अधिकतम लचकताका साथ सम्वादको बाटोबाट शान्तिपूर्ण ढंगले अघि बढ्न तत्पर रहेको उल्लेख छ ।
तराई मधेशमा आन्दोलनरत दलका मागलाई ध्यानमा राखी वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहेका बताउँदै बन्द र सीमा–भन्सार धर्ना कार्य बन्द गरी जनताको जीवन सामान्य तुल्याउन तथा वार्ताको सहज वातावरण सिर्जना गर्न आन्दोलनरत दलहरुलाई सरकारले आग्रह गरेको छ ।