काठमाडौ। चाडपर्वकोलागि भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको थरुहट/थारुवान संयूक्त संघर्ष समितिले अनिश्चितकालिन आम हडतालसहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
समितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर आगामि मंसिर ५ गतेबाट पूर्व मेचिदेखि महाकालीसम्म राजमार्ग ठप्प पारेर अनिश्चितकालिन आमहडतालको घोषणा गरेको हो ।
समितिद्धारा घोषित अन्य आन्दोलनका कार्यक्रमहरुमा मंसिर ४ गते साँझ मसाल जुलुस गर्ने, मंसिर ७ र ११ गते थारु पहिचान र अधिकार विरोधी संविधानका धाराहरु चलाउने, ब्यवस्थापिका संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोची काली जागर र विरोध सभा चलाउने, केन्द्रका नेताहरुको सहभागितामा जिल्ला र क्षेत्रमा विरोध सभा आयोजना गर्ने र मुद्दा मिल्ने पक्षसँग कार्यगत एकता गरेर आन्दोलनलाई अझै शसक्त पार्ने लगायतका रहेका छन ।
पत्रकार सम्मेलनमा समितिका प्रवक्ता अमनलाल मोदीले आफूहरुको मुद्दा विशुद्ध थारुको भएकोले यसलाई मधेसीको एजेण्डासँग जोडेर कुण्ठित पार्न नहुने बताए । उनले आफूहरुको आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने भन्दै अधिकार स्थापित गरेर मात्रै आन्दोलन समापन हुने ठोकुवा गरे ।
मोदीले आफूहरु समग्र मधेसमा तीन प्रदेशको पक्षमा रहेको भन्दै नवलपरासीदेखि कञ्चनपुरसम्म एउटा, सुनसरी, मोरङ्ग, झापा, सिराहा, सप्तरी र उदयपुरको एक र बाँकी तराईमा अर्को प्रदेशगरी तीन प्रदेश हुनु पर्ने बताए ।