काठमाडौं। सरकारले औषधि तथा औषधिजन्य उपकरण अभाव हुन नदिन ती सामान हवाई मार्गबाट ढुवानी गर्ने भएको छ।बजारमा केही अत्यावश्यकीय औषधि अभाव हुन लागेको भन्दै त्यसको व्यवस्थापनका लागि सरकारसँग ठूला अस्पतालले आग्रह गरेपछि सरकारले हवाई मार्गबाट ढुवानी गर्ने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले यसका लागि आपूर्तिकर्ता निकाय तथा सरकारका विभिन्न निकायका प्रनिनिधि सम्मिलित कार्यदल नै बनाएको छ । ‘कार्यदलले शुक्रबार नै बृहत बैठक बोलाएर अत्यावश्यकीय औषधि र उपकरण अभाव हुन नदिन सबै खालका उपाय खोज्ने निर्णय गरेको छ,’ औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले भने।

नाकाबन्दीका कारण वीरगन्ज सीमापारि रक्सौलमा करिब तीन सय ट्रक औषधि डेढ महिनादेखि रोकिएको छ । नेपालका लागि आयात गरिएका औषधि र औषधिजन्य उद्योगका कच्चा पदार्थ बोकेका यी ट्रक रोकिँदा समस्या उत्पन्न भएको नेपाल औषधि व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश खण्डेलवालले बताए ।
असोज ७ गतेदेखि भारतबाट कुनै पनि मालवाहक गाडी नेपाल छिर्न सकेका छैनन् । खण्डेलवालका अनुसार भारतबाट नेपालमा ६० प्रतिशतभन्दा बढी औषधि र औषधिजन्य कच्चा पदार्थ वीरगन्ज नाका भएर नेपालमा भित्रिने गरेको छ ।
लामो समयदेखि ती ट्रक सडकमै रहेका कारण औषधि बिग्रने सम्भावना रहेको उनले बताए । बिग्रने सम्भावना रहेका केही औषधि ट्रकबाट खन्याएर रक्सौलमा गोदाम भाडामा लिएर राखिएको पनि उनले बताए । कतिपय औषधि भने त्यहाँ राख्दाराख्दै उपभोग गर्ने म्याद सकिने अवस्थाका पनि छन् ।
रक्सौलमा रोकिएका औषधिका ट्रकमध्ये केही ट्रक रुट परिवर्तन गरेर भैरहवा नाकामा पठाइए पनि भारतले नेपाल प्रवेश गर्न नदिएको खण्डेलवालले बताए ।