विराटनगर। नेपाल र भारतको सीमाना जोगवनीस्थित दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अस्थायी क्याम्प खडा गरेको छ ।

नेपाल–भारतबीच भएको दुई देशीय सम्झौताको ठाडो उल्लंघन गर्दै एसएसबीले बलमिच्याई गरी क्याम्प खडा गरेको हो ।

एसएसबीले पाँच दिन अघिदेखि क्याम्प खडा गरेर आफ्नो काम सञ्चालन गर्दै आएको छ । त्यो क्याम्पलाई हटाउन नेपाली पक्षले उचित पहल गर्न सकेको छैन ।

सीमानाको १० गजा क्षेत्रलाई दुबै देशले प्रयोग गर्न मिल्दैन । उक्त क्षेत्र दुबै देशका सुरक्षा निकायले प्रयोग गर्न पाउँदैनन् भने त्यहाँ कुनैपनि भौतिक संरचना निर्माण गर्न र बस्ती बसाल्न मिल्दैन ।

दुई देशको सीमाना छुट्याउन गाडिएको पिलर छेउमै एसएसबीले क्याम्प खडा गरेर आफ्नो काम कारवाही गरिरहेको हो ।

दशगजा भित्र पर्ने विराटनगरबाट जोगवनी प्रवेशका लागि निर्माण गरिएको गेटदेखि भित्रको भागमा टेन्ट टाँगेर क्याम्प बनाइएको छ । एसएसबीले बनाएको क्याम्प र नेपाली भूभागमा गाडिएको पिलरको दुरी लगभग दुई मिटर छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनका क्रममा त्यही क्षेत्रमा प्रवेश गरेर मोर्चाका कार्यकर्ताले नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने गरेका थिए ।

दशगजा क्षेत्रमा राखिएका फलफूल लगायतका फुटपाथ पसलको आडमा मोर्चाका कार्यकर्ताले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीको समन्वयमा त्यस्ता पसल हटाइएको थियो ।

फुटपाथ पसलको गलत प्रयोग गरेर मोर्चाका कार्यकर्ताले नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै आएको ठाउँलाई ओगटेर एसएसबीले क्याम्प खडा गरेको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमानाको दशगजा क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएको भौतिक संचालन तत्काल हटाउने विषयमा नेपाल र भारतका सुरक्षा अधिकारीबीच विराटनगरमा दुई पटक सम्म बैठक बसेर सहमति भएको थियो ।

गत वर्ष माघ र कात्तिकमा भएको सहमति कार्यान्वायनमा आउन नसकिरहेको बेला एसएसबीले क्याम्प खडा गरेर आफ्नो काम कारवाही सञ्चालन गर्न थालेको हो ।

दशगजा क्षेत्रमा निर्माण गरिएको भौतिक संरचना र मानविय वस्ती हटाउन आनाकानी भारतीय पक्षले गरिरहेका बेला एसएसबीले पनि अस्थायी क्याम्प खडा गरेको हो ।

यस विषयमा नेपाल प्रहरीले कुरा राखेपनि एसएसबीका अधिकारीले चासो दिएका छैनन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले जोगवनी क्षेत्रमा एसएसवीले बनाएको अस्थायी क्याम्प हटाउनका लागि आग्रह गरिसकिएको बताए ।

‘यस विषयमा नेपालकै माथिल्लो निकायमासमेत जानकारी गराइसकिएको छ,’ प्रनि पौडेलले भने, ‘दशगजा क्षेत्रभित्र क्याम्प खडा गरेर आफ्नो काम कारवाही संचालन गर्न दुबै देशका सुरक्षाअधिकारीले मिल्दैन ।’

मोरङ प्रहरीका प्रमुख एसपी तारिणीप्रसाद लम्सालले विहारको विधानसभाको निर्वाचनका लागि क्याम्प राखेको हुन सक्ने बताए ।

‘बिहीबार (आज) हुने निर्वाचनका लागि सीमा शिल गरेको अवस्था छ,’ उनले भने, ‘त्यही निर्वाचन सुरक्षाका लागि राखिएपनि त्यसपछि भने हटाउनलाई पहल गर्ने छौं ।’

प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले दशगजा क्षेत्रमा निर्माण गरिएको अस्थायी क्याम्पसका बारेमा आफूलाई जानकारी नभएको बताए ।

‘कुन् ठाउँमा कसरी क्याम्प खडा गरिएको हो भन्ने बारेमा बुझेर मात्र भन्न सकिन्छ,’ उनले भने, ‘विधान सभाको निर्वाचनलाई लक्षित गरेर बनाइएको भएपनि त्यो आफ्नो भूमिमा मात्र बनाउनु पर्छ । दशगजा क्षेत्र भित्र बनाउन पाइँदैन ।’