काठमाडौं । बिहीबारबाट वितरण गरिने तेल पाउन लाइनमा निजी सवारी धनीले सवारी साधन मात्र राखेर नहुने भएको छ । सम्वन्धित पम्पबाट टोकन समेत लिनु पर्ने भएको छ ।

अघिल्लोपटक धेरै उपभोक्ताले लाइनमा बसेर पनि पेट्रोल नपाएको गुनासो आएपछि नेपाल आयल निगमले यसपटक अनिवार्य रुपमा टोकन बाँड्न पम्पहरुलाई निर्देशन दिएको छ ।

टोकन नलिएकाहरुले तेल पाउने छैनन् । ‘सबै पम्पमा एकै परिमाणमा तेल वितरण हुँदैन । त्यसैले पम्पले आफूले पाउने पेट्रोलको परिमाणअनुसार चिट वा कुपन बाँड्ने छन्’ आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले भने-‘एउटा पम्पमा टोकन नपाए अर्को पम्पमा पुगेर टोकन लिनुस् । टोकन नभए तेल पाइन्न ।’