वीरगन्ज। वीरगन्ज बजार मंगलबार पनि बिहानैदेखि तनावग्रस्त बनेको छ । वीरगन्जमा स्थानीय प्रशासनले समोबार दिउँसोदेखि लगाएको कफ्र्यू मंगलबार बिहानैबाट मधेसी मोर्चाका कार्यकर्ताले अवज्ञा गरेर ठाँउ ठाँउमा प्रदर्शन गरेकाले नगरक्षेत्र तनाग्रस्त बनेको हो ।
कर्फ्यूको उल्लंघन गरेर मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि वीरगन्जको नगवा र ब्रम्ह चोकमा झडप भएको छ । बाइपास सडकको नगवा चोकमा बिहान मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।
झडपका क्रममा प्रहरीले २० राउण्ड भन्दा बढी हवाइ फायर गरेको छ । यस्तै बाइपास सडककै ब्रम्हचोकमा पनि मंगलवार बिहान प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
चोकमा भएको झडपका क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर पनि गरेको छ । यस्तै बाइपासकै लक्ष्मणवा चोकमा पनि मंगलबार बिहानैदेखि आन्दोलनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिहेका छन् ।
वीरगन्जको चोक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । काम विशेषले सडकमा निस्किएका सर्वसाधरणलाई भने प्रहरीले अवरोध गरेको छैन ।
वीरगन्जमा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक भारतीय युवकको मृत्यु भएलगत्तै स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सोमबार दिउँसो तीन बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।