काठमाडौं । नेपाल आयल निगमले आगमी १९ गतेदेखि २२ गतेसम्म निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ । चीनले अनुदानमा दिएको तेल काठमाडौं भित्रिएकै दिन सोमबार आयल निगमले काठमाडौंमा निजी सवारीलाई तेल वितरण गर्ने निर्णय गरेको हो ।

निजी तथा सार्वजनिक गरी ५० भन्दा बढी पम्पबाट तेल बाँडिनेछ । जसका लागि सवारीको दर्ताको लट अनुसार दिन तोकिएको निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए ।

निगमका अनुसार १ देखि ३० लटमा दर्ता भएका निजी मोटरसाइकलले १९ गते बिहीबार पेट्रोल पाउनेछन् । यस्तै ३० देखि ५० को लटका मोटरसाइकललाई २० गते शुक्रबार तेल दिने र ५० भन्दा माथिका लटका मोटरसाइकललाई शनिबार पेट्रोल बाँडिने छ ।

यस्तै निजी कार तथा जिपले पनि लट अनुसार पेट्रोल पाउने छन् । बिहीबार १ देखि ५ लटका कारले तेल किन्न पाउनेछन् भने शुक्रबार ६ देखि ८ र शनिबार त्यसभन्दा माथिका लटका कारले भने शनिबर पेट्रोल पाउने निगले जनाएको छ ।

कारलाई १० तथा मोटरसाइकलले ५ लिटर पेट्रोल दिइनेछ ।चीनबाट अनुदानमा भित्रिने इन्धनको युरो ४ भएकाले ती इन्धन परीक्षण पश्चात मात्रै वितरण गरिने जनाएको छ ।